इन्धनको मूल्य वृद्धि तथा बलात्कारीलाई कारबाहकिो माग गर्दै नेविसंघ आन्दोलित

धनकुटा । पेट्रोलियम पदार्थमा वारम्वार गरिएको चर्को मूल्यवृद्धि तथा बालिका बलात्कार पछि हत्या गर्ने हत्यारा पक्राउ गर्न नसकेको भन्दै नेपाल विद्यार्थी संघले विरोध जनाएको छ । संघले यो सरकारले शान्तिसुरक्षा प्रदान गर्न र मूल्यबृद्धि नियन्त्रण गर्न नसकेकोले विरोध जनाएको विद्यार्थी नेता विमर्शमान अमात्यले जानकारी दिए ।

२ महिनाभन्दा अघि कञ्चनपुरका बालिका निर्मला पन्तलाई बलात्कार पछि हत्या गरिएको थियो । देशभर विरोध भैरहदाँ पनि हत्यारा अझै पक्राउ गर्न सरकार असमर्थ भएको भन्दै संघले विरोध जनाएको छ । यस्तै सरकार गठन भएको सात महिनामा सातै पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको भन्दै संघले सोमबार दिउँसो धनकुटा बहुमुखी क्याम्पसको मुलगेट अगाडि आधा घण्टा चक्काजाम गरेर विरोध जनाएको हो ।

दिउँसो ११ बजेदेखि साढे ११ः३० बजेसम्म चक्काजाम गरिएको थियो । चाडपर्वको मुखमा आएर सरकारले जनताको ढाडसेक्ने काम गरेको र देशमा दिनानुदिन बढिरहेको बलात्कारका घटनामा सरकार मुखदर्शक बनेको चक्काजाम पछिको कोणसभामा विद्यार्थी नेताहरुले बताए ।

चक्काजाम पछिको कोणसभामा बोल्दै संघका सभापति बालानन्द दाहालले जनतामारा सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि र सवारी भाडा तत्काल फिर्ता नलिए नेविसंघले कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले निर्मला पन्तलगायत महिलाहरुको बलात्कार र हत्या भएको अपराधी पत्ता नलगाउनु भनेको सरकारले अपराधीको संरक्षण गरिरहेका आरोप लगाए । सरकारले राम्रो काम गर्न नसकेर कार्यकर्तालाई अरिंगाल बन्न निर्देशित गर्नु अधिनायकवादी चरित्र प्रदर्शन भएको आरोप लगाए ।