राहत शिक्षकको बन्द सफल भएको निष्कर्ष

धनकुटा । देशभरका राहत शिक्षकहरू सामुदायिक विद्यालय बन्द गरेर आन्दोलित छन् । राहत शिक्षकले दरबन्दी खुलाई आफूहरुलाई स्थायी गर्नुपर्ने माग गर्दै तीन दिन बन्द आव्हान गरेका हुन ।

विस २०५८ देखि सरकारले विद्यालयमा दरबन्दी नराखी अनुदानमा सामुदायिक शिक्षक सरह सुविधा दिइराखेको थियो । मुलुकभरि करीब ४० हजार राहत शिक्षक कार्यरत रहेका छन् । राहत शिक्षकले गत मंगलबाददेखि आजसम्म तीन दिनसम्म पठनपाठन बन्द गरेका थिए । शिक्षा मन्त्रालयले आन्दोलनरत सामुदायिक विद्यालयका राहत शिक्षकहरुलाई आन्दोलन स्थगन गरी नियमित विद्यालय सञ्चालनको वातावरण बनाउन आग्रह पनि गरेको थियो ।

यस्तै नेपाल राहत शिक्षक केन्द्रिय समितिको आह्वानमा भएको बन्दको प्रभाव धनकुटामा पनि परेको छ । देशको शिक्षा नीति र सरोकारवालाले राहत शिक्षकलाई विभेद्कारी व्यवहार गरेको आरोप लगाउँदै राहत शिक्षकले २६, २७ र २८ गते तीन दिन सामुदायिक विद्यालयमा शैक्षिक आमहड्तालको आव्हान गरेका थिए ।

गत सोमबार सरकारी वार्ता टोली र राहत शिक्षकका प्रतिनिधि बीचको वार्ता विना निष्कर्ष टुंगिएपछि मंगलबारबाट राहत शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनको कारण धनकुटामा कतिपय विद्यालयमा २६ र २७ गते पठनपाठन पूर्ण रुपमा बन्द नै भएको थियो । बन्दको समयमा केहि विद्यालयले तिजको कार्यक्रम गरेका थिए । बन्दलाई स्थायी शिक्षक, अस्थायी शिक्षक तथा पेशागत संगठनहरु र महासंघले पनि समर्थन गरेको नेपाल राहत शिक्षक समिति धनकुटा अध्यक्ष चन्द्र एवाई राईले बताए ।

राहत कोटामा कार्यरत शिक्षकलाई एकमुष्ट स्थायी गर्नका लागि संघीय ऐनमा नीतिगत सुधार गर्नुपर्ने, स्थायी प्रक्रियाको थालनी गर्नुपूर्व राहत शिक्षक सम्बन्धि हालको शिक्षा नियमावलिले गरेको व्यवस्थाको स्वामित्व निर्माणको क्रममा रहेको ऐनले गर्नुपर्ने माग राहत शिक्षकले गरेका छन् ।

शिक्षक सेवा आयोगबाट लिइने परीक्षामा उमेरको हदबन्दी हटाउनुपर्ने र राज्यबाट शिक्षक शिक्षक बिच गरिँदै आएको विभेद् अन्त्यका लागि नीतिगत व्यवस्था गर्नुपर्ने माग गर्दै उनीहरुले तीन दिने सामुदायिक विद्यालय बन्दको घोषणा गरेका हुन । यसबाट पनि राहत शिक्षकको माग सम्बोधन नभए अर्को चरणको आन्दोलन सुरु गर्ने नेपाल राहत शिक्षक समिति जिल्ला अध्यक्ष एवाईले बताए । यसैबिच नेपाल राहत शिक्षक जिल्ला समितिले बन्द सफल भएको निष्कर्ष निकालेको छ । आज विहीबार बेलुका बसेको समीक्षा बैठकले उक्त निष्कर्ष निकालेको हो । बैठकले धनकुटामा क्रियाशील विभिन्न शिक्षक संगठनलाई राहत शिक्षकको आन्दोलनमा सघाउन आग्रह गर्ने निर्णय पनि गरेको छ ।

यस्तै राहत शिक्षक समिति धनकुटाले बिहीबार बिहान धनकुटाको मदनचोकमा कोणसभाको आयोजना गरेको थियो । सो कोणसभालाई राहत शिक्षक समिति धनकुटा अध्यक्ष एवाईले सम्वोधन गरेका थिए । सो अवसरमा उनले राहत शिक्षकको माग सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।