नेताहरुको घमण्ड अदालतले तोडिदियो : लालबाबु पण्डित

२४ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले अलग अलग गतिविधि गर्दा नेता लालबाबु पण्डित कुनै समूहतिर लाग्नुभएकाे थिएन । उहाँले आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै आनुभएकाे थियाे ।

तर सर्वोच्च अदालतले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणलाई मान्यता नदिई दुई पार्टीलाई पूर्ववत अवस्थामा नै फर्काइदिएपछि उहाँले साविकको नेकपा एमालेतिर रहने बताउनुभएकाे छ ।

सोमबार ईसाझा खबरसँगको कुराकानीमा उहाँले आफू सूर्य चुनाव चिह्नतिर रहने बताउनुभएकाे छ । ‘मैले पहिलादेखि नै भन्दै आएको हो– जनताको बहुदलीय जनवाद र सूर्य चिन्ह,’ नेता पण्डितले भने, ‘अब दुईटा पार्टी एक भएर गए सँगै रहन्छु, एक भएन भने जता सूर्य चिह्न उतै म  भनेर वताउनु भएकाे छ।’

अब दुवै समूह एक भएर जान सक्ने स्थिति नरहेको पण्डितको बुझाइ छ । र केपी शर्मा ओली नेतृत्वको एमाले ब्युँतिएकाले आफू त्यतै रहने पण्डितले बताउनुभएकाे छ ।

‘मैले आइतबारको प्रतिनिधिसभाको बैठक बहिष्कार गरिन नि । साथीहरु उठेर जाँदा म बैठकमै उपस्थित रहेँ । यसले क्लियर भएन र ! म कता छु ?’ पण्डितले भन्नुभयाे ।

आइतबार प्रतिनिधि सभाको बैठकमा सरकारको तर्फबाट विभिन्न अध्यादेशहरु पेस हुन लाग्दा प्रचण्ड–माधव समूहका सांसदहरुले बैठक बहिष्कार गर्नुभएकाे थियाे । कामचलाउ सरकारले अध्यादेश ल्याउन नसक्ने प्रचण्ड–माधव समूहको तर्क थियो । तर, पण्डितले भने बैठक बहिष्कार गर्नुभएकाे थिएन ।