दार्चुला घटनामा सरकारले समिति बनाएर टार्न खोज्यो : कोमल वली

२२ साउन, काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल वलीले दार्चुला घटनामा सरकारले एक शब्द पनि बोल्न नसकेको भन्दै यसले कांग्रेसका संस्थापक वीपी कोइरालाकै अपमान भएको टिप्पणी गरेकी छिन् ।

शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको आरोप लगाइन् ।
वीपी कोइरालाले छिमेकी देश भारत र चीनसँग ठाडै सम्वाद गर्ने गरेको स्मरण गराउँदै यस विषयमा सरकारले भारतसँग कुरा गर्न नसक्नु वीपीकै अपमान भएको उनको भनाइ थियो ।

वर्तमान सरकारले मुलुक चलाउन नसक्ने र जनतालाई सुरक्षा पनि दिन नसक्ने उनले बताइन् ।
‘नेपाली जनताको अपमान हुँदा, तुइन काटेर युवालाई मारिँदा एक शब्द नबोल्ने ? समिति बनाएर टार्ने ? यही हो वीपीका अनुयायीहरुको चरित्र ?’ वलीले सरकारसँग प्रश्न गरिन् ।

साराले तुइन काटेको भनेर भन्दा रिपोर्ट पर्खने कुरा उचित नभएको भन्दै उनले देशलाई, जनतालाई पर्दा औँला ठड्याउन नसक्नेहरुले मुलुकको रक्षा कदापी गर्न नसक्ने बताइन् ।