बालबालिका लाइ लगाइने २३ लाख खोप काठमाडौं आइपुग्यो

१९ असार, काठमाडौं ।
५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको करिब थप २३ लाख मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ ।

स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले कोभ्याक्स सुविधामार्फत २२ लाख ९९ हजार २ सय मात्रा पेडियाट्रिक डोज खोप आइतबार आइपुगेको बताए ।

चौरासियाका अनुसार खोप अभियान सञ्चालन गरिएका २७ जिल्ला पहिलो मात्रा लगाउन छुटेका बालबालिकालाई सो खोप दिइनेछ । बाँकी दोस्रो मात्राका लागि राखिनेछ ।

यसभन्दा अगाडि कोभ्याक्स सुविधामार्फत २२ लाख ३ हजार २ सय मात्रा खोप नेपाल आएको थियो । ५ देखि ११ बर्षसम्मका ३९ लाख बालबालिकालाई ८४ लाख डोज कोभ्याक्स सुविधामार्फत नेपाललाई चार पटक गरी उपलब्ध गराउने छ ।

पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकी ५० वटा जिल्ला भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिने तयारी रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशैभरका विद्यालयमा खोप केन्द्र तोकी खोप कार्यक्रम सञ्चालन हुनेछ । यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ ।

फाइजर खोपको पूर्ण रूपमा कायम गर्न अल्ट्रा कोल्डचेन (माइनस ४४ देखि माइनस ८० डिग्री सेल्सियस) तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । फाइजरलाई माइनस १५ देखि माइनस २५ डिग्री सेल्सियसमा ३१ दिनसम्म मात्रै भण्डारण गर्न सकिन्छ ।