ऋति फाउन्डेसनको आयोजनामा कर्णाली उत्सवको चौथो संस्करण सुरु

काठमाडौँ । ऋति फाउन्डेसनको आयोजनामा आजदेखि कर्णाली उत्सवको चौथो संस्करण सुरु भएको छ ।

ऋति फाउन्डेसनले एक पत्रकार सम्मेलनको आयोजना गर्दै उत्सवको पहिलो दिन ६ वटा बहसमूलक सत्र सञ्चालन हुने र त्यसमा कर्णाली चिन्तन, कर्णाली खेल्दोछ, यो सहरः त्यो सहर, भोट–भेट, शिक्षा र समर्पण रहेका छन् । सत्रहरूको बीचमा ‘पैकेलो’का कथा सुनाउने गरिएको छ ।

हरेक दिन एक–एक जना पैकेलोको कथा सुनाइने संयोजक लम्सालले जानकारी दिए । त्यस्तै उत्सवको दोस्रो दिन शनिवार दलित दलिल, भोक र भोजन, रेडियोको रस, संघीयताको पाँच वर्ष, कति विस्मात, कति हर्ष, कर्णाली नदी प्रणाली र कर्णालीमा लगानी सत्र सञ्चालन हुनेछन् भने तेस्रो अर्थात् अन्तिम दिन रूपान्तरणः पुस्तान्तरण, सग्लो समाज, सङ्लो राजनीति, समावेशी शासन, डिजिटल डेमोक्रेसी, कर्णालीदेखि काठमाडौंसम्म सत्र सञ्चालन हुनेछन् ।

उत्सवको चौथो संस्कराणको पहिलो र दोस्रो दिन दुई वटा विद्वत प्रवचन पनि रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै उत्सवको तेस्रो दिन कर्णाली कन्सर्ट सञ्चालन गरिनेछ । जसअन्तर्गत पहिलो दिन सांगीतिक साँझ, दोस्रो दिन कविता साँझ र तेस्रो दिन गजल सन्ध्या चल्नेछन् ।

उत्सवमा देशभरबाट ५० जनाभन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तिहरू अतिथि वक्ताको रूपमा सहभागी हुने आयोजकले जनाएको छ ।