राष्ट्रपति निर्वाचन प्रक्रिया सुरु, ८८१ जना मतदाताको नामावली सार्वजनिक

काठमाडौं, १० फागुन । राष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगले बुधबार राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारलाई मतदान गर्ने ८८१ जना मतदाताको नामावली सार्वजनिक गरेको छ । २५ फागुनमा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको हुने निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाले मतदानमा सहभागी हुन पाउने गरी आयोगले बुधबार नामावली सार्वजनिक गरेको हो ।

सार्वजनिक मतदाता नामावलीको दाबी विरोधको उजुरी बुधबार बिहान ११ बजेदेखि बिहीबार मध्यान्ह १२ बजेसम्म दिन सकिने आयोगले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।

दाबी विरोधको उजुरीमाथि फागुन १२ गते अपरान्ह ३ बजेसम्म छानबिन गरी अपरान्ह ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ । राष्ट्रपतिको पदको लागि १३ फागुनमा मनोनयन दर्ता र २५ फागुनमा मतदान हुनेछ । उपराष्ट्रपति पदको निर्वाचनका लागि २७ फागुनमा मनोनयन दर्ता र ३ चैतमा मतदान हुनेछ ।