३ दर्जन गर्भवती एउटै विमान चढेर विदेश उडेपछि…

काठमाडौँ । एउटै विमानमा ३३ जना रुसी गर्भवती महिलाहरू एउटै उडानमा सवार गरेको अचम्मको दृश्य देखिएको छ । सबै गर्भवतीहरु रुसबाट अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स गएका हुन् । सबै गर्भवती महिलाहरु गर्भावस्थाको अन्तिम हप्तामा रहेको र उनीहरु बच्चा जन्माउनकै लागि अर्जेन्टिना गएको समाचारमा जनाइएको छ ।

खासमा ती महिलाहरुले अर्जेन्टिनाको नागरिकता आफ्ना बच्चाहरुले पाउन् भन्ने उदेश्यले त्यहाँ बच्चा जन्माउने तयारी गरेको समाचारमा उल्लेख छ । रुस र युक्रेनबिचको युद्धका कारण रुसी गर्भवतीहरू सुत्केरी हुनका लागि अर्जेन्टिना जाने क्रम बढेको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । एकसाथ ३३ महिलाहरु एकै उडानबाट अर्जेन्टिनाको राजधानी ओर्लिएकोमा उनीहरुमध्ये तीन जनालाई कागाजत नपुगेको भन्दै अर्जेन्टिना प्रवेशमा रोक लगाइएको थियो ।

सुरुमा पर्यटकको रुपमा अर्जेन्टिना गएका उनीहरुले आफूहरु पर्यटनका लागि अर्जेन्टिना नआएको आफैं स्वीकार गरेका थिए । ती महिलाहरू अर्जेन्टिनामा बच्चा जन्माउने उद्देश्यका साथ आएको र आफ्ना बच्चाले अर्जेन्टिनाको नागरिकता पाउने मुख्य आशाले नै यत्रो दुख गरिरहेको बताउँछन् ।

अर्जेन्टिनामा रुसी महिलाका लागि बर्थ टुरिज्म फस्टाउँदै गएपछि अर्जेन्टिनामा बच्चा जन्माउन चाहने रुसी महिलाका लागि रुसमा विभिन्न खालका प्याकेजसमेत सार्वजनिक समेत गरिएको छ ।