सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश

काठमाडौँ-राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको छ । मतदाता नामावलीमा नाम समावेश गर्न र विवरण सच्याउनका लागि परेको निवेदनका आधारमा चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ट्र्याक्टरमाथि आगजनी गरेको अभियोगमा सांसद चौधरीलाई अदालतले दोषी ठहर गरेको थियो । उहाँलाई माघ १९ गते प्रहरीले नियन्त्रणमा लिई कारागार चलान गरेको थियो । उक्त प्रकरणपछि सांसद चौधरी निलम्बित हुनुभएको थियो ।

प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा भएको पत्र सङ्घीय संसद् सचिवालय पुगेपछि उहाँको निलम्बन फुकुवा भएको थियो । उहाँ यही आइतबार कारागार मुक्त हुनुभएको थियो । निलम्बन फुकुवा भएसँगै उहाँको सांसद पद कायम भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा सदस्य सङ्गीता मण्डल धानुक, राष्ट्रियसभा सदस्य दुर्गाकुमारी गुरुङ, प्रदेशसभा सदस्य सरस्वती खड्का र सञ्जुकुमार चौधरीको विवरण सच्याएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । नामावली सच्याएर कार्यालयले आजै अपराह्न ३ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । शनिबार उम्मेदवारको मनोनयन तोकिएको छ । भोलि बिहान १० देखि अपराह्न ३ बजेसम्म मनोनयन पत्र दर्ता गर्न सकिने कार्यतालिका छ ।