टी–सिरिजको फिल्ममा अल्लू अर्जुन

मुम्बई, १९ फागुन । साउथ स्टार अल्लू अर्जुन बलिउडमा डेब्यू गर्ने खबरले केही समययता सामाजिक सन्जाल तातिरहेको छ ।यसअघि उनी शाहरुख खानको फिल्म ‘जवान’मा अभिनय गर्ने चर्चा थियो, तर त्यो चर्चा केवल चर्चामै सीमित भयो । किनकी अल्लूले शाहरुखसँग सहकार्य चाहेनन् । अब भने अल्लूले निर्माता भूषण कुमार र ‘कविर सिंह’ निर्देशक सन्दीप रेड्डी बागासँग एक ठूलो बजेटको फिल्ममा हस्ताक्षर गरेका छन् ।

अल्लूसँग आधिकारिक रुपमा टी–सिरिजका मालिक निर्माता भूषण कुमार, प्रणय रेड्डी वांगा, सह–निर्माता शिव चानना र निर्देशक सन्दीपले सहकार्य गर्न लागेका हुन् ।उनको नयाँ फिल्मको काम सन्दीपको फिल्म ‘स्पिरिट’को काम पुरा भएसँगै हुनेछ । ‘स्पिरिट’को निर्माण पनि टी–सिरिजले गर्दैछ । फिल्ममा प्रभास प्रमुख भूमिकामा छन् ।फिल्मको नाम घोषणा गरिएको छैन । ‘पुष्पा’ फेम्ड अल्लूको नयाँ फिल्म ‘पुष्पा २’ सन् २०२३ मै रिलिज हुँदैछ ।