जसपा चुनावमा अन्तर्घात गर्ने ८० जनालाई कारबाहीको सिफारिस

काठमाडौँ-आम चुनावमा पार्टीभित्र रही अन्तर्घात गरिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले त्यसको छानबिन गरी ८० जनालाई कारबाहीका लागि सिफारिस गरेको छ । पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा गठन भएको कार्यदलले स्थलगत अध्ययन गरेर त्यसको प्रतिवेदन पार्टी अध्यक्ष उपेन्द्र यादवलाई हस्तान्तरण गरेको छ ।

उक्त कार्यदलले १४ वटा जिल्लामा अन्तर्घातबारे छानबिन गरेको थियो । कार्यदलले एक सय ५२ जना आरोपी नेतासँग बयान लिनाका साथै अन्य प्रमाण र थप जानकारीका लागि दुई सय ४७ जनासँग पनि भेटेर कुराकानी गरेको थियो । कारबाही सिफारिस गरिएका ८० जना नेताले आफ्नै पार्टीका उम्मेदवारलाई हराउनका लागि भूमिका खेलेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको बताइएको छ ।

कोसी प्रदेशको पाँचथर, सुनसरी र मोरङ, मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, बागमती प्रदेशको मकवानपुर, धादिङ, काभ्रे, लुम्बिनी प्रदेशको बर्दिया, कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा गएर कार्यदलले छानबिन गरेको थियो । प्रतिवेदन बुझ्दै जसपा अध्यक्ष यादवले पार्टीको अगामी बैठकमा प्रतिवेदनमाथि छलफल हुने र कार्यदलले सिफारिस गरेको प्रतिवेदनलाई कार्यान्वयन गरिने बताउनुभएको कार्यदलका संयोजक थापाले जानकारी दिनुभयो ।

यसअघि विसं २०७४ को चुनावमा पनि पार्टीका कार्यकारिणी सदस्य रणध्वज कन्दङ्वाको संयोजकत्वमा छानबिन गर्न कार्यदल गठन भएको थियो । तर त्यो कार्यदलले बुझाएको प्रतिवेदन भने कार्यान्वयनमा आएको थिएन । विसं २०७४ सालको चुनावमा भएको छानबिनमा कार्यदलले ३९ जना नेतालाई कारबाही गर्ने तथा आठ जनालाई पार्टीबाट निष्कासन र ३१ जनालाई निलम्बनका लागि सिफारिस गरेको थियो ।