राष्ट्रपतिको निर्वाचनका लागि भएको मतदान सम्पन्न, मतगणना केही बेरमै

काठमाडौँ- नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको हो । मतदान आज बिहान १० देखि सुरु भएको दिउँसो ३ बजेसम्म भएको थियो । केहीबेरमै सोही स्थलमा मतगणना प्रारम्भ हुने र आजै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

मतदानमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेपाल मजदुर किसान पार्टीका एक गरी १५ सङ्घीय सांसद तटस्थ रहनुभएको थियो ।

त्यस्तै मतदानमा अनुपस्थितमध्ये सङ्घीय सांसद चन्द्र भण्डारी उपचारार्थ भारत र वर्षमान पुन उपचारार्थ चीनमा हुनुहुन्छ भने लक्ष्मी कोइरीको मुद्दा रहेको, टेकबहादुर गुरुङ निलम्बनमा पर्नुभएको, रवि लामिछाने पदमुक्त भएपछि उक्त सिट खाली भएको र सहनाज रहमानको मृत्यु भएको थियो । यसैगरी अनुपस्थित प्रदेशसभा सदस्यमध्ये राप्रपाका २८ र नेमकिपाका तीन प्रदेशसभा सदस्य तटस्थ, जनता समाजवादी पार्टी नेपालको एक सदस्य अनुपस्थित रहनुभएको थियो ।

तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ । पूर्व सभामुखसमेत रहनुभएका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुनुहुन्छ । साथै अर्का पूर्व सभामुख नेम्वाङलाई एमालेको साथ थियो ।

राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुन्छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।