बिन्दबासिनी म्युजिकका सञ्चालक सुवास ७५ हजार धरौटीमा छुटे

काठमाडौँ । लोकप्रिय गायक प्रमोद खरेल, गीतकार महेशचन्द्र आचार्य, लगायतका स्रष्टाहरुलाई तथानाम गाली गरेर समातिएका बिन्दबासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी धरौटीमा छुटेका छन् ।

विद्युतीय कारोबार ऐन–२०६३ विरुद्धको कसुरमा जिल्ला अदालत काठमाडौँले उनलाई ७५ हजार धरौटीमा रिहा गर्न आदेश गरेसँगै उनी छुटेको साइबर ब्युरोका प्रवक्ता ९एसपी० पशुपति रायले जानकारी दिए ।

थाइल्याण्डबाट नेपाल आउँदै गर्दा फागुन ८ मा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उनी समातिएका थिए । संचालक सुवासविरुद्ध गीतकार महेशचन्द्र आचार्यले जाहेरी दिएका थिए । रेग्मीले सामाजिक सञ्जाल ९फेसबुक०मा समग्र स्रष्टा विरुद्ध घृणा फैलाउने सामाग्री पोष्ट गरेको आचार्यको आरोप छ ।

दिवंगत कलाकारहरुलाई पनि रेग्मीले होच्याएर पोष्ट गरेको र कलाकारहरुलाई जनावरसँग तुलना गरेर पोष्ट गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनको फेसबुकमा अहिले पनि केही गायक – गायिकाको हस्ताक्षर रहेको कागज राखिएको छ । तर, उक्त कागज के प्रसंगको थियो भने खुल्न सकेको छैन ।