दिउँसै मूर्ति चोरीको प्रयास गर्ने इटालियन नागरिकलाई थप पाँंच दिन थुनामा राख्न अनुमति

भक्तपुर, १ चैत । भक्तपुर दरवार क्षेत्रभित्रको पुरातात्त्विक कलात्मक काठ तथा धातुको मूर्ति दिउँसै चोरीको प्रयास गर्ने विदेशी नागरिकमाथि दोस्रोपकट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

भक्तपुर दरवार क्षेत्रभित्रको तलेजु मन्दिरभित्रको मूर्ति चोरीको असफल प्रयास गर्ने इटालियन नागरिक तिजियानो रोन्चीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत भक्तपुरले म्याद थप गरिदिएको हो ।

प्राचीन स्मारक संरक्षण ऐन २०१३ बमोजिम जिल्ला अदालत भक्तपुरबाट उनलाई दोस्रोपटक पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

तलेजु मन्दिर सुन्धारा परिसरमा घुम्न आएका ती इटालियन नागरिकले चक्कुको प्रयोग गरी धातुको मूर्ति निकाल्न खोजेका थिए ।

प्रत्यक्षदर्शीले विदेशीको हर्कत देखेर तलेजु मन्दिरको सुरक्षार्थ खटिएका नेपाली सेनालाई खबर गरेका थिए  । खबरपछि सेनाले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो  । ती विदेशी नागरिकले दरबार स्क्वायर प्रवेश गर्दा टिकट नलिई चोर बाटो प्रयोग गरेको पाइएको छ ।

भक्तपुर नगर प्रवेश गर्न प्रति पर्यटक १५ अमेरिकी डलर तिर्नुपर्छ । सीसीटीभीको फुटेजअनुसार ती इटालियन नागरिक सुन्धारा परिसरमा चारपल्ट ओहोरदोहोर गरेको देखिएको छ ।