उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय

काठमाडौं, १ चैत । राप्रपाले उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । धुम्बाराहीमा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । गत २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा तटस्थ बसेको राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने निर्णय गरेको हो । उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदै छ ।

साथै बैठकले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदुरदर्शी, अमानवीय र अनुचित रहेकाले तत्काल सो निर्णय फिर्ता लिन एक साताको अल्टिमेटम दिएको छ ।

विज्ञप्तिको पूर्णपाठ :

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ । बैठकले :

१. आसन्न उपराष्ट्रपति निर्वाचनको मतदानमा राप्रपाले मत नदिने, तटस्थ बस्ने निर्णय गरेको छ ।

२. किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदुरदर्शी, अमानवीय रअनुचित छ।

यो निर्णय तत्काल फिर्ता लिन, सुलभ ढंगले समयमै मल आपुर्तिको व्यवस्था मिलाउन र मल आपुर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँदछ । रासायनिक मल सम्बन्धमा पार्टीको ७७ वटै जिल्ला समितिले एक हप्ता भित्र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, धर्ना दिने र सभा गर्ने निर्णय गरिएको छ।

३. हाल बैंकहरुबाट ब्याज बढ्न थालेकाले साना उद्योगी, व्यवसायी, किसान लगायत सम्पूर्ण आर्थिक क्षेत्रमा ठूलो र नकारात्मक असर परिरहेको छ। बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुसंग उठाइरहेको ब्याजदर तत्काल नियन्त्रण गर्न, अस्वभाविक रुपमा बढेको ब्याज घटाउन र देशमा वित्तीय सन्तुलन कायम राख्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँदछ। साथै बैंकको ब्याजदरकै विषयमा आन्दोलनरत व्यवसायीहरुको माग तत्काल सम्बोधनका लागि सरकारसंग राप्रपा बैठकले माग गरेको छ।

मोहन श्रेष्ठ
प्रवक्ता एवं प्रचार विभाग प्रमुख ।