मध्यपश्चिम विश्वविद्यालयका सबै आंगिक क्याम्पसको स्ववियू निर्वाचन स्थगित भएपछि बिद्यार्थीहरु आन्दोलित

सुर्खेत, २ चैत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयका सबै आंगिक क्याम्पसको स्ववियू निर्वाचन स्थगित भएसँगै विद्यार्थीहरुले त्यसको चर्को विरोध गरेका छन् । उच्च अदालत सुर्खेतले  चैत्र ३ गर्ने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन रोक्ने आदेश जारी गरेसँगै स्ववियु निर्वाचन स्थगित भएसँगै बिद्यार्थी संगठनहरु आन्दोलित भएका छन् ।

बिहीबार बसेको विश्वविद्यालयको बैठकले अन्य १० वटै आंगिक क्याम्पसको चुनाव रोक्ने निर्णय गरेको विश्व विद्यालयका रजिष्ट्रार प्रा डा नारयणप्रसाद पौडेलले जानकारी दिएसँगै बिद्यार्थीहरुले त्यसको चर्को विरोध गर्ने चेतावनी दिइसकेका छन् ।

बिहिबार एक कार्यक्रमको आयोजना गर्दै बिद्यार्थी नेताहरुले मध्यपश्चिम विश्वविद्यालयका सबै आंगिक क्याम्पसको स्ववियू निर्वाचन स्थगित गर्ने निर्णयले नेपाली बिद्यार्थी आन्दोलन माथिकै आक्रमण भएको बताएका छन् । १० वटै आंगिक क्याम्पसमा तयारी अन्तिम चरणमा पुग्नै लागेका बेला चालेको कदमले गैरकानुनी हिसाबले रोकिएको समेत आरोप लगाएका छन् ।

विश्वविद्यालयले निर्वाचन सम्पन्न गर्नका लागि सहज वातावरणका लागि सम्पूर्ण विद्यार्थी संघ संगठनहरुसँग आवश्यक छलफल एवं परामर्श गरी उपयुक्त समयमा निर्वाचनको मिती निर्धारण गरि निर्वाचन गर्ने निर्णय समेत गरेको छ। १० वटा आंगिक क्याम्पसमध्ये तीनवटा क्याम्पस लुम्बिनी प्रदेश र ७ वटा कर्णाली प्रदेशमा पर्दछन्।