सभामुखको अभिव्यक्तिबारे प्रेम सुवालको आपत्ति, महाकाली मिचिएको विरोध गर्दैनौँ भने संसदको काम के ?

काठमाडौं, ५ चैत । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले सभामुख देवराज घिमिरेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले एमाले, कांग्रेस र माओवादीले जत्तिकै चित्रबहादुर केसी, प्रभु साह र प्रेम सुवालले बोल्न भाग खोजेको भन्ने सभामुख घिमिरेको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

‘सभामुखको एउटा न्युज आएको छ । एमाले, कांग्रेस, माओवादी जत्तिकै चित्रबहादुर केसी, प्रभु साह र प्रेम सुवालले बोल्नलाई भाग खोज्यो रे, सभामुख महोदय त्यसरी यहाँबाट व्यक्त नभएको हुनुहुपर्छ । मैले पनि त्यो भ्वाइस सुनेको हो । यहाँको होइन होला सभामुख महोदयको । त्यो हुनुहुँदैन यस्तो अभिव्यक्ति,’ सुवालले भने, ‘बोल्नुपर्छ संसदमा । कति लाख खर्च हुन्छ आजको संसद चलाउन ? यदी जनताको विषय यहाँ बोल्न नपाउने हो भने संसद चलाउनुको अर्थ छैन, औचित्य छैन । दार्चुलामा महाकाली मिचिएको विरोध गर्दैनौँ भने यो संसदको काम के ? त्यस कारण संसद बोल्नका लागि हो ।’

साथै पत्रकारबारे सभामुख घिमिरेको अभिव्यक्तिबारे पनि उनले ध्यानाकर्षण गराउँदै पीत पत्रकारिता गर्ने को को हुन् छानबिन गर्न समिति गठन गर्न माग गरे ।