एसिसी प्रिमियर कप : खेल तालिका सार्वजनिक, नेपालले पहिलो दिन नै मलेसियासँग भिड्ने

काठमाडौं । एसिसी प्रिमियर कप वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुने भएको छ । यसअघि वैशाख ११ मा प्रतियोगिता सुरु हुने भनिए पनि एसियन क्रिकेट काउन्सिल (एसिसी) ले खेल तालिका खेल तालिका हेरफेर गर्दै नयाँ तालिका सार्वजनिक गरेको हो ।

जसमा नेपाल समूह ‘ए’ मा पर्दा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् भने समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन अटाएका छन्। जसमध्ये नेपालले पहिलो खेल मलेसियासँग वैशाख ५ मा खेल्नेछ।

नेपाल र मलेसियाको खेल त्रिवि मैदानमा हुनेछ । त्यस्तै नेपालको दोस्रो खेल ओमानसँग वैशाख ८ मा त्रिविमा, तेस्रो खेल मुलपानी मैदानमा साउदी अरेबियासँग वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा हुने एसियन क्रिकेट काउन्सिलले जनाएको छ । दुवै समुहमा बाजी मारेका दुई टिमले वैशाख १८ गते फाइनल खेल्नेछन् भने बिजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि खेल्न पाउनेछ ।

जहाँ एसियाका ५ टेस्ट राष्ट्र र एसिसी प्रिमियर कपको विजेताबीच प्रतिस्पर्धा हुनेछ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता तथा समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।