एसईई परीक्षामा मुगुबाट एक हजार ४६६ परीक्षार्थी सहभागी हुँदै

मुगु, १२ चैत । मुगुमा यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि एक हजार ४६६ जना परीक्षार्थी सहभागी हुने भएका छन् । पाँच दिनपछि १७ चैतबाट सञ्चालन हुने एसईई परीक्षामा मुगुका चार स्थानीय तहका एक हजार ४६६ जना परीक्षार्थी सहभागी हुने भएका हुन् ।

एसईई परीक्षाका लागि आवश्यक हाजिरी पुर्‍याएका नियमित तर्फ एक हजार ४४५ , ग्रेड वृद्धिमा २१ जना गरि एक हजार ४६६ जना परीक्षार्थी एसईई परीक्षामा सहभागी हुन लागेका शिक्षा विकास तथा समन्वय ईकाई मुगुका ईकाई प्रमुख सुर्य बहादुर खत्रिले बताए ।

उनका अनुसार गत वर्षभन्दा यो वर्ष एसईई परीक्षा दिने परीक्षार्थीको संख्या वृद्धि भएको छ । गत वर्ष ९७६ जना परीक्षार्थीले एसईई दिएका थिए । परीक्षा सञ्चालनका लागि ७ वटा केन्द्र तोकिनुका साथै सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्र अध्यक्ष तोकिने पनि ईकाई प्रमुख खत्रीले जानकारी दिए ।

उनले भयरहित वातावरणमा परीक्षा सञ्चालन हुने विश्वास दिलाउँदै परीक्षार्थीलाई ढुक्क भएर परीक्षा दिन आग्रह गरेका छन् । यसका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएकाे उनले बताए ।