विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर

काठमाडौं, १४ चैत । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्र, गणतन्त्रमा विरोध गर्ने व्यक्तिको मुख थुन्न नपाइने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेका  तीनजना युवाको मुख थुनेको र उनीहरुलाई थुनामा परेपछि उनले तत्काल ती युवालाई रिहा गर्नुपर्ने माग गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै उनले लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न नमिल्ने भन्दै अविलम्ब रिहा गर्न माग गरेका हुन् ।

‘सम्माननिय पीएमनेपाल लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन,’ उनले ट्वीटरमा लेखेका छन्, ‘प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद् र आपत्तिजनक थियो ।’

आफूविरुद्ध नाराबाजी गरेका युवालाई तत्काल रिहा गर्न माग गर्दै उनले लेखेका छन्, ‘आफूविरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु ।’

७ चैतमा थापागाउँमा आयोजित ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलनसम्बन्धी सार्वजनिक कार्यक्रममा सहभागी हुनेक्रममा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका युवा अहिले थुनामा छन् । बैंकको चर्काे ब्याजललगायतका विषयमा नाराबाजी गरेका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई मुखख थुन्दै प्रहरीले नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा चलाएको छ ।

१२ चैतमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले तोकेको ५ हजार धरौटी नबुझाएका कारण उनीहरु जेल चलान भएका छन् । यसपछि महामन्त्री शर्माले उनीहरुको रिहाका लागि माग गर्दै लोकतन्त्रमा विरोधीको मुख थुन्न नपाइने बताएका हुन् ।