कर्णालीबाट ३८ हजार नौ सय परीक्षार्थी एसइईमा

कर्णाली- देशैभर आजदेखि भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कर्णालीबाट ३८ हजार नौ सय ७० परीक्षार्थी सहभागी भएका छन् । प्रदेशको शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालका अनुसार यहाँका दश जिल्ला गरी १९ हजार तीन सय एक छात्र र १९ हजार तीन सय ७९ छात्राले परीक्षा दिइरहेका छन् । आज बिहान ८ बजेदेखि सुरु भएको एसइईमा यस प्रदेशमा एक सय ७९ परीक्षा केन्द्र सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।

दश जिल्लामध्ये ३२ परीक्षा केन्द्र रहेको सुर्खेतबाट नौ हजार एक सय ३९ परीक्षार्थी र चार परीक्षा केन्द्र रहेको डोल्पामा छ सय ९८ परीक्षार्थी एसइई परीक्षामा सहभागी भएका निर्देशक हमालको भनाइ थियो । चौबिस परीक्षा केन्द्र रहेको दैलेखमा पाँच हजार सात सय ३५ परीक्षार्थी सहभागी छन् । एक्काइस परीक्षा केन्द्र रहेको कालीकोटमा तीन हजार सात सय ६६, बीस परीक्षा केन्द्र रहेको जाजरकोटमा चार हजार छ सय ५६ र १७ परीक्षा केन्द्र रहेको जुम्लामा दुई हजार आठ सय ७७ परीक्षार्थी एसइईमा सहभागी भएको जनाइएको छ ।

त्यसैगरी २३ परीक्षा केन्द्र रहेको सल्यानबाट चार हजार नौ सय ८३ र तीन परीक्षा केन्द्र रहेको रुकुमपश्चिममा चार हजार दुई सय १६ परीक्षार्थी सहभागी छन् । छ परीक्षा केन्द्र रहेको हुम्लामा एक हजार दुई ३४ र सात परीक्षा केन्द्र रहेको मुगुमा एक हजार छ सय ६६ परीक्षार्थी सहभागी भएका छन् । कर्णालीमा कूल परीक्षार्थीमध्ये नियमिततर्फ ३७ हजार नौ सय र ग्रेड वृद्धितर्फ एक हजार ७० परीक्षार्थी रहेको निर्देशनालयले जनाएको छ ।