कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा बालकको मृत्यु

महेन्द्रनगर, २० चैत- कञ्चनपुरको दैजी–बेल्डाडी सडक खण्डमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।बेल्डाडीबाट महेन्द्रनगरतर्फ आइरहेको सुपप्र ०२–००३ प ४६७१ नम्बरको मोटरसाइकल बेदकोट १० मा नालामा खस्दा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले दुर्घटनामा परी बेल्डाडी गाउँपालिका–४ का अमरबहादुर ठकुरीका अन्दाजी आठ/नौ वर्षीय छोरा इस्बन्धन ठकुरीको मृत्यु भएको बताए ।

दुर्घटनामा परी मोटरसाइकल चालक टेकेन्द्रप्रसाद भट्ट र बाह्र वर्षीय अर्चना जोशी घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी बालिकालाई थप उपचारका लागि महाकाली प्रादेशिक अस्पतालले धनगढी रिफर गरेको प्रहरीले जनाएको छ ।