शाहरुखसँग ८० वर्षसम्म रोमान्स गर्न चाहन्छिन् बलिउड अभिनेत्री रानी मुखर्जी

मुम्बई, २३ चैत । बलिउड अभिनेत्री रानी मुखर्जी हालका दिनमा आफ्नो रिलिज फिल्म ‘मिसेज चटर्जी वर्सेज नर्वे’को सफलताको उत्सव मनाइरहेकी छन् । आशिमा छिब्बरको निर्देशन रहेको फिल्मले बक्सअफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । फिल्ममा रानीको अभिनयको जोकोहीले तारिफ गरेका छन् ।

‘राजाकी आएगी बारात’बाट बलिउडमा पाइला चालेकी उनले शाहरुख खानका साथ फिल्म ‘कुछ कुछ होता हे’मा अभिनय गरेपछि सफलता पाइन् । उनले हालैमात्र शाहरुखसँगको रोमान्सलाई आफूले जारी राख्ने बताएकी छन् ।

उनले आफूले शाहरुखसँग अझै फिल्ममा काम गर्न चाहेको र ८० वर्षको उमेरसम्म शाहरुखसँगै रोमान्स गर्न चाहेको खुलासा गरेकी छन् । शाहरुख र रानीले ‘कुछ कुछ होता हे’, ‘चलते चलते’ र ‘कभी अलविदा ना कहना’ जस्ता फिल्ममा स्क्रिन शेयर गरेका छन् ।