नेपाललाई पर्यटकीय अन्तर्राष्ट्रिय गन्तव्यस्थल बनाइने

काठमाडौँ-सरकारले नेपाललाई पर्यटकीय अन्तर्राष्ट्रिय गन्तव्यस्थलको रूपमा विकास गर्ने लक्ष्य लिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सार्वजनिक गरिएको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा उक्त लक्ष्य प्राप्तिका लागि आवश्यक पूर्वाधार विकास गर्ने योजना ल्याइएको हो । पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि आवश्यक योजना बनाउने साझा न्यूनतम कार्यक्रममा समेटिएको छ ।

विमानस्थल, हवाई उड्डयन, हिमाली लोकमार्ग जस्ता पूर्वाधारको विकास गर्नुका साथै पर्यटकीय क्षेत्रका होटल, ट्राभल एजेन्सी, टे«किङ एजेन्सीलगायतका सेवा प्रदायकहरूको विकास तथा गुणस्तर व्यवस्थित गर्ने सरकारको प्राथमिकता रहेको छ । सांस्कृतिक, जैविक एवं भौगोलिक विविधतालाई पर्यटनको मुख्य क्षेत्रको रूपमा विकास गर्ने, राष्ट्रिय निकुञ्ज र आरक्ष क्षेत्रको उचित व्यवस्थापन गर्ने उल्लेख गरेको सरकारले निजगढ विमानस्थललगायत पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि आवश्यक योजना बनाउने भएको छ ।

बाराको निजगढमा प्रस्तावित राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय निर्माणको प्रक्रिया अघि बढे पनि वातावरणीय विषयमा टुङ्गो लाग्न नसक्दा उक्त आयोजनाको कामले गति लिन सकेको छैन । सरकारले यो आयोजनालाई शीघ्ररूपमा अघि बढाउने गरी आवश्यक प्रक्रिया थालेको छ । हालसम्म विमानस्थलको चारकिल्ला तोक्ने र तारबार लगाउने काम भएको छ ।

हरित पर्यटनको विकास गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको सरकारले खेलकुदलाई उद्योगको रूपमा विकास गर्ने र अन्तर्राष्ट्रियस्तरको खेलकुद पूर्वाधार निर्माण तथा खेदकुद पर्यटनको विकास गर्ने योजना बनाएको छ ।