प्रेमिका टिनाबाट अलग्गिए हनी सिंह

मुम्बई, ६ वैशाख । भारतका लोकप्रिय र्‍यापर हनी सिंह र उनको प्रेमिका टिना थडानीबीच ब्रेकअप भएको छ । टिना पेशाले अभिनेत्री तथा मोडल हुन् । उनले कैयौं प्रोजेक्टमा काम गरिसकेकी छन् । हनी र टिना एक वर्षयता प्रेममा थिए । हनी आफैंमा डिभोर्सी पुरुष हुन् । उनको पूर्व पत्नी शालिनी तलवारसँग डिभोर्सको मुद्धा अदालतमा चलिरहेको छ ।

हनी र टिनाले इन्स्टाग्राममा अनफलो गरेका छन् । उनीहरुले एकअर्काको सामाजिक सञ्जालमा रहेका दुवैको तस्बिर हटाइसकेका छन् । हनी र टिनाले गत वर्षको अप्रिलबाट डेट शुरु गरेका थिए । उनीहरुलाई नजिकबाट जान्नेका अनुसार दुवैको जीवन निकै फरक छ । उनीहरु एकापसमा समझदारीमा नआइरहेको बेला दुवैले सहमतिमा अलग्गिने निर्णय लिएका हुन् । अलग्गिएपछि उनीहरु काममै व्यस्त छन् ।

हालैको एक अन्तरवार्तामा हनीले ब्रेकअपको संकेत गरेका थिए । उनले नयाँ एलबमको बारे कुरा गर्दै यो संकेत गरेका थिए । ‘मैले मेरो रोमान्टिक एलबममा निकै परिवर्तन गर्नुपर्यो । किनकी म पहिला प्रेममा थिएँ, अहिले त्यो प्रेम मसँग रहेन’, हनीले भनेका थिए ।

हनीले सन् २०११ मा शालिनीसँग विवाह गरेका थिए । तर उनीहरुले गत वर्ष अलग्गिने निर्णय लिए । हनीले क्षतिपूर्तिस्वरुप शालिनीलाई एक करोड रुपैंयाँ पनि दिनुपर्यो । तलवारले हनीमाथि घरेलु हिंसा र अर्की महिलासँग शारीरिक सम्बन्धको आरोप लगाएका थिए ।