नक्कली मतपत्र सहित जसपाका नेता रामसागर यादव पक्राउ

बारा, १० वैशाख । बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा जसपाका नेता नक्कली मतपत्रसहित पक्राउ परेका छन् ।  बाराको देवताल गाउँपालिका- ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ परेका हुन् । मतदान गर्ने बेला नक्कली मतपत्र समेत खसाल्दै गर्दा उनी पक्राउ परेका प्रहरीले जनाएको छ ।

यसैबीच, बारा- २ का एमाले उम्मेद्वार पुरुषोत्तम पौडेलले  बारा २ मा मतदातालाई प्रभावित पार्ने प्रयास भएको आरोप लगाएका छन् । उनले आफूले  विभिन्न स्थानमा यस्तो प्रयास भएको जानकारी आएको बताएका हुन् ।

तर, मतदाताले एमालेलाई मत दिने उनको दाबी छ । ‘मतदानको ट्रेन्ड हेर्दा एमालेको पक्षमा मतदान देखिन्छ । केही स्थानमा मतदातालाई प्रभावित पार्न रकम बाँडिएको सूचना समेत आएको छ । यति हुँदाहुँदै पनि जनताले हामीलाई विश्वास गरेर मत दिन्छन्,’ उनले भने।