डा गोविन्द केसी म्याग्दीको ग्रामीण क्षेत्रमा

म्याग्दी-वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा गोविन्द केसीले म्याग्दीको ग्रामीण क्षेत्रमा पुगेर बिरामीको उपचार गर्नुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ्ग तातोपानी स्वास्थ्यचौकीमा उहाँले आइतबार र सोमबार हाडजोर्नीसम्बन्धी बिरामीको उपचार गर्नुभएको हो । दुई दिनसम्म उहाँले एक सय २५ जनाको उपचार गर्नुभएको भुरुङ्ग तातोपानी स्वास्थ्यचौकीका प्रमुख कृष्ण केसीले जानकारी दिनुभयो ।

आइतबार ५५ र सोमबार ७० बिरामीको उपचार गर्नुका साथै परामर्श सेवा दिनुभएको थियो । स्वास्थ्यचौकीका प्रमुख केसीसहित सिनियर अहेव विक्रम पुन, अनमी नीता पुन, सनम वुद्धुजा पुन, अहेव चौथो सङ्गीना मगरातीलगायतले डा केसीलाई सघाउनुभएको थियो ।

चिकित्सा शिक्षाका अभियान्ता डा केसीले गत हप्ता बागलुङको निसिखोला गाउँपालिकाको बोहोरागाउँ स्वास्थ्यचौकीमा तीन दिन उपचार गर्नुभएको थियो । बागलुङबाट कुनै खबरबिना भुरुङ्ग तातोपानी आउनुभएको हो । गाउँपालिका र स्वास्थ्यचौकीले औषधिको व्यवस्थापन गरेको थियो ।

“पूर्वजानकारीबिनै डा केसी स्वास्थ्यचौकीमा आउनुभएको थियो”, स्वास्थ्य चौकी प्रमुख केसीले भन्नुभयो, “हामी पनि अचम्ममा प¥यौँ ।” स्वास्थ्य चौकीले सामाजिक सञ्जाल, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि र सङ¬्घसंस्थामार्फत सेवा लिनका लागि सर्वसाधारणलाई अनुरोध गरेको थियो ।

दाना, नारच्याङ, भुरुङ्ग तातोपानी, घार, शिख, पाउद्धार, पोखरेबगर, ठूलोबगरका सर्वसाधारण सेवा लिन आएका थिए । फुर्सदको समयमा ग्रामीण क्षेत्रका बिरामीको उपचारका लागि आएको डा केसीले बताउनुभयो । “ग्रामीण क्षेत्रमा हाडजोर्नी तथा नशारोगसम्बन्धी समस्या भएका धेरै बिरामी उपचारको पहुँच बाहिर छन्”, उहाँले भन्नुभयो, “फुर्सदको समयमा गाउँमै पुगेर सेवा दिने उद्देश्यले म्याग्दी आएको हुँ ।”