पुराना उपकरण प्रयोग गरेपछि मात्र नयाँ उपकरण किन्न मन्त्री बस्नेतको निर्देशन

काठमाडौँ-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पुरानो उपकरण बनाएर प्रयोग गरेर मात्र नयाँ उपकरण किन्न निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज यहाँ कर्मचारीलाई निर्देशन दिँदै उहाँले पुराना उपकरण बनाएर मात्र नयाँ उपकरण किन्न निर्देशन दिनुभयो । “उपकरण खरिद गरिएर राखिएका मात्र छन् । प्रयोग गरिएका छैनन् । नयाँ उपकरण किन किन्नुप¥यो ?” उहाँले भन्नुभयो, “अहिले भएका पुराना उपकरण के कस्ता कहाँ रहेका छन् । तिनीहरू बनाएर प्रयोग नगरेसम्म खरिद प्रक्रियामा जानु हुँदैन ।”

उहाँले एक हप्ताभित्र पुराना उपकरणको अवस्थाबारे आफूलाई जानकारी गराउनसमेत निर्देशन दिनुभयो । उहाँले स्वास्थ्य मन्त्रालयल संवेदनशील भएकाले जभाभावी बिदामा पनि नबस्न कर्मचारीलाई निर्देशन दिनुभयो । मन्त्री बस्नेतले आफू सफल हुनु भनेको कर्मचारीले राम्रो काम गरेपछि हुने भन्दै कर्मचारीलाई दत्तचित्त भएर काम गर्न आग्रह गर्नुभयो । “म सफल हुने भनेको तपाईंहरूले काम गरेर मात्र हुने हो”, उहाँले भन्नुभयो, “तपाईंहरूले आफ्नो कर्तव्य पालन भएर काम गर्नुपर्दछ । आन्तरिक काम तपाईंहरूले गर्ने हो । म टिमको नेतृत्व गरेर काम गर्दछु ।”

उहाँले कोरोना भाइरस र डेङ्गु सङ्क्रमण सावधानी अपनाएर रोकथाम र नियन्त्रण गर्न सकेको बताउनुभयो । सरकारी अस्पतालजस्तो राम्रो उपचार निजी अस्पतालमा नहुने भन्दै सरकारी अस्पतालको गुणस्तरलाई अझ ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले चिकित्सको परामर्श शुल्क तोक्ने विषयमा मन्त्रालयको लगाम हुनुपर्ने बताउनुभयो । “चिकित्सकको विशेषज्ञतालाई पनि ध्यान दिनुपर्दछ । चिकित्सक र बिरामीको मर्कालाई ध्यान दिनुप¥यो । यतिसम्म चिकित्सकको परामर्श शुल्क उचित हुन्छ भनेर सिलिङ तोक्ने स्वास्थ्य मन्त्रालयको लगाम हुनुपर्दछ”, मन्त्री बस्नेतले भन्नुभयो । उहाँले चिकित्सकले तोक्ने शुल्कको नियमन र अनुगमन गर्नुपर्ने भनाइ राख्नुभयो । “एउटा चिकित्सकले एउटा बिरामी हेरेको एक हजार दुई सय लिन थालेको मैले सुनेको छु”, उहाँले भन्नुभयो, “त्यसको अनुगमन र नियमन कसले गर्ने हो ?”

कार्यक्रममा मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले मन्त्रालयका केही ऐनका दफा संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले वीर अस्पतालमा अबदेखि शल्यक्रियाका लागि समय पर्खनु नपर्ने अवस्थाका लागि विज्ञापन गरिएको बताउनुभयो ।