केन्द्रीय कमिटी बैठकका लागि एमालेले तय गर्‍यो १० एजेन्डा

काठमाडौं, २६ वैशाख-वैशाख २८ गतेदेखि हुने केन्द्रीय कमिटी बैठकका लागि नेकपा एमालेले १० वटा एजेन्डा तय गरेको छ ।मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठक १० वटा एजेन्डा तय गरेको हो ।उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार मंगलबारको सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि विस्तृत छलफल भएको छ।

पहिलो एजेन्डाका रुपमा २०७९ भदौ १० र ११ गते बसेको केन्द्रीय कमिटी बैठकयताका राजनीतिक परिवर्तन र घटनाक्रमबारे कुरा भएको उनको भनाइ छ ।दोस्रो एजेन्डाका रुपमा यसबीचमा पार्टीका सचिवालय बैठकबाट भएका महत्वपूर्ण निर्णयको अनुमोदन रहेको गुरुङले बताए ।तेस्रो एजेन्डाका रुपमा अनुशासन आयोग, लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले केन्द्रीय कमिटीमा प्रतिवेदनसहित आफ्ना कुरा राख्ने रहेको छ।

त्यसैगरी २ महिनासम्म चलेको मिसन ग्रासरुट अभियानको पनि विस्तृत समीक्षा तीन दिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा हुनेछ ।अर्को एजेन्डाका रुपमा सातवटा भौगोलिक प्रदेश र २ गैरभौगोलिक प्रदेशको प्रतिवेदन पेश गर्ने रहेको गुरुङले बताए ।एमालेले अब केन्द्रीय कमिटी सदस्यहरुलाई वर्षको एक पटक फरक भूगोलमा खटाउने भएको उनको भनाइ छ ।त्यसैगरी केन्द्रीय कमिटी बैठकका लागि समसामयिक राजनीतिक प्रस्तावसहित अन्य एजेन्डामा पनि विस्तृत छलफल हुने गुरुङले बताए ।