म्यान्मार र बङ्गलादेशमा आँधीबाट बच्न हजारौं मानिसलाई सु्रक्षित स्थलतर्फ सारिँदै

बङ्गालको खाडीमा एक दशकभन्दा लामो समयदेखिको सबैभन्दा शक्तिशाली चक्रवातका कारण म्यानमारको पश्चिमी तटबाट हजारौं मानिस भागेका छन् भने छिमेकी देश बङ्गलादेशका अधिकारीहरू शनिबार रोहिंग्या शरणार्थीलाई बाहिर निकाल्न दौडेका छन् ।भारतको मौसम विज्ञान विभागका अनुसार ‘मोचा’ नाम दिइएको चक्रवातले २२० किलोमिटर प्रतिघण्टा (१३६ माइल प्रतिघण्टा) को गतिमा हावा चलिरहेको बताइएको छ ।

करिब १० लाख रोहिङ्ज्या शरणार्थीहरू बस्ने कमजोर आश्रयस्थल कोक्स बजार र म्यान्मारको पश्चिमी रखाइन तटमा रहेको सिट्वेको बीचमा आइतबार बिहान आँधी कमजोर हुने अनुमान गरिएको छ ।एएफपीका संवाददाताका अनुसार शनिबार सिट्वेका बासिन्दाले कार, ट्रक र तीन पाङ्ग्रे (टेम्पो)मा आफ्नो सम्पत्ति र घरपालुवा जनावर जम्मा गरी सुरक्षित स्थलतर्फ हिँडेका छन् ।

“हाम्रो परिवारमा हजुरआमा हुनुहुन्छ र हामीले उहाँको हेरचाह गर्नुपर्छ,” खिने मिनले राज्यको राजधानीबाट बाहिरिने बाटोमा आफ्ना नातेदारहरूले भरिएको ट्रकबाट एएफपीलाई बताउनुभयो । “हाम्रो घरको हेरचाह गर्न सिट्वेमा एक जना मात्र मानिस बाँकी छन् ।

करिब एक लाख ५० हजार मानिसहरूको बसोबास रहेको यस शहरमा पसल र बजारहरू बन्द गरिएका थिए र धेरै स्थानीयहरू अग्ला स्थानमा रहेका गुम्बाहरूमा आश्रय लिएका थिए । आँधीका कारण सबै जना सुरक्षितस्थलतर्फ भागेको बताउँदै चालीस वर्षीय क्याव टिनले आफ्नो छोरा स्थानीय अस्पतालमा रहेकाले त्यहाँबाट बाहिर जान नसक्ने बताए ।“यो चक्रवात हाम्रो राज्यमा आउनेछैन भन्नेमा हामी आशावादी छौँ । तर यदि यस्तो नियति भयो भने हामी यसलाई नजरअन्दाज गर्न सक्दैनौं,” उहाँले भन्नुभयो ।

सन् २००८ मा दक्षिणी म्यान्मारमा एक लाख ३० हजारभन्दा बढी मानिसको ज्यान जाने गरी आएको आँधीलाई सङ्केत गर्दै उहाँले भन्नुभयो, “मलाई चिन्ता छ कि यो चक्रवातले ‘नरगिस’ले जस्तै हाम्रो राज्यलाई पनि असर गर्नेछ ।”म्यान्मारको जुन्टा अधिकारीहरूले राखिन तटमा रहेका गाउँहरूबाट स्थानान्तरणको निगरानी गरिरहेको सरकारी सञ्चार माध्यमहरूले शुक्रबार जनाएका छन् ।
म्यान्मार एयरवेज इन्टरनेसनलले रखाइन राज्यका लागि आफ्ना सबै उडान सोमबारसम्मका लागि स्थगन गरिएको जनाएको छ ।