एमाले सबै प्रकारका भ्रष्टाचार छानबिन गर्न तयार : महासचिव पोखरेल

काठमाडौँ-नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रमाथिको घात रहेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले शरणार्थी प्रकरण ठगी मात्र नभएर राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अपमान भएको बताउनुभयो ।

“नेपाल राष्ट्र आफैँ मानव तस्करीका लागि काम गर्दछ भन्ने जुन प्रकारको सन्देश गएको छ, त्यो राष्ट्रका लागि लज्जाको विषय भएको छ,” उहाँले भन्नुभयो ।बदमासी एउटाले गर्ने सङ्केत अर्कोतिर देखाउने काम भइरहेको भन्दै उहाँले अपराधमा जो–जो संलग्न रहेका छन्, तिनीहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने धारणा राख्नुभयो ।

शरणार्थी प्रकरणसम्बन्धी घटनामाथि भइरहेको छानबिनलाई राजनीति नगर्नसमेत महासचिव पोखरेलले आग्रह गर्नुभयो । उहाँले मुलुकलाई सुशासनतर्फ लैजानका लागि सबै प्रकारका भ्रष्टाचारको छानबिन हुनुपर्ने बताउनुभयो ।

महासचिव पोखरेलले एमाले सबै प्रकारका भ्रष्टाचारका घटनाको छानबिन गर्न तयार रहेको बताउनुभयो । उहाँले मुलुकको विकास र समृद्धिको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएको बताउनुभयो । सुशासन, स्वतन्त्रता, स्वाभिमान र सामाजिक सुरक्षाको नेतृत्व गर्ने एमालेलाई कमजोर पार्नका लागि एमालेमाथि चौतर्फी आक्रमणको प्रयास भइरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले युवा सङ्घ नयाँ युवाको बीचमा गई सङ्गठन विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा एमालेलाई बहुमतमा ल्याउन अभियान चलाउनुपर्ने भन्दै युवामा रहेको ऊर्जालाई एमालेले मर्न नदिने बताउनुभयो ।युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले युवा लक्षित कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।