प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते तीनदिने भारत भ्रमणमा जाने

काठमाडाैं- प्रधानमन्त्री- पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १७ गतेदेखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री दाहालले चार दिवसीय भ्रमण गर्न लागेको जनाएको छ । भ्रमणमा प्रधानमन्त्रीको साथमा उनका स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल रहनेछिन् । त्यस्तै प्रधानमन्त्रीको भ्रमणदलमा मन्त्रीहरू, सचिवहरू र उच्चपदस्थ सरकारी कर्मचारीको सहभागिता रहनेछ । प्रधानमन्त्रीको भ्रमणका क्रममा जेठ १८ गते भारतीय प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्रीस्तरीय द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।

द्विपक्षीय भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनको आयोजना हुनेछ । प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवाभोजको आयोजना गर्नेछन् । प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखेरसँग पनि भेटवार्ता गर्नेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गरेको ‘बिजनेस समिट’लाई सम्बोधन एवं अन्तक्रिया गर्नेछन् ।

यस्तै, प्रधानमन्त्रीले भारतमा रहेका नेपाली समुदायसँग अन्तक्रिया गर्नेछन् । यस्तै, भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।त्यस्तै, भ्रमणका क्रममा प्रधानमन्त्रीले मध्यप्रदेशस्थित उज्जैन र इन्दोरको भ्रमण गर्नेछन् ।