मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक : अध्यक्ष ओली

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज राष्ट्रिय जनसांस्कृतिक महासङ्घले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँले मुलुकको अहिले सङ्ख्यात्मक रूपमा मात्र परिवर्तन भएकोले गुणात्मक परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

उहाँले गुणात्मक परिवर्तनका लागि अभियान सञ्चालन गर्नुपर्ने भनाइ राख्नुभयो । “यथार्थमा अहिलेसम्म नेपालको परिवर्तन केही मात्रामा गुणात्मक नभए पनि सङ्ख्यात्मक परिवर्तन मात्रात्मक रूपमा मात्र भएको छ,” उहाँले भन्नुभयो, “मुलुकमा शासक फेरिएका छन् । प्रणाली अलिकति फेरिए जस्तो भएको छ । खासमा प्रणाली उस्तै उस्तै देखिएको छ ।”

उहाँले मुलुकलाई सकारात्मक सोचसहित परिवर्तनतिर लैजान खोजे पनि बिथोलिएको भनाइ राख्नुभयो । अध्यक्ष ओलीले जनसाहित्यबाट अन्धविश्वास, कुरीति, अन्याय, असत्य, भेद्भाव र शोषण भत्काउन शब्दवाणमा गति दिनुपर्ने भनाइ राख्नुभयो । सङ्गीत कला, साहित्य भनेको बेग्लै संवेदना र भाव रहने भन्दै यसले बेग्लै खालको असर पार्ने बताउनुभयो । नेपाल धर्ती ज्ञान, सभ्यता, सङ्गीत, कला साहित्य शिक्षाको सुरुआत भएको उहाँको भनाइ थियो ।

उहाँले मुलुक राजनीतिकरूपमा अस्थिर र अन्योल रहेको बेला सामाजिकरूपमा अगाडि बढ्ने ठाउँ नभएको स्पष्ट पार्नुभयो । नेपाली समाजको सभ्यता र संस्कृति नै धरापमा परेको भन्दै पूर्वजले हजार वर्ष लगाएर मूल्यमान्यता विकास गरेर स्थापित गरेको उहाँको भनाइ थियो ।

उहाँले अर्थतन्त्र बिग्रियो भने केही समयमा सुध्रिने भए पनि समाज बिग्रियो भने सुध्रन धेरै समय लाग्ने बताउनुभयो ।
–––