फस्टलुकमा मीराः स्याडो अफ अ रेन्बो

काठमाडौं, १८ । नेपाली फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को फस्टलुक सार्वजनिक भएको छ । एक बच्चामा देखिएको अस्वाभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको निजी सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बनेको यो फिल्मको पोस्टरमा दुई महिला र एक बालक फिचर्ड छन् । पोस्टरमा नायिका सुरविना कार्की, अनिता पण्डित र बाल कलाकार आश्वि  छन् ।

 

फिल्मकी निर्देशक अनिता पण्डितले सार्वजनिक पोस्टरले यो फिल्मको थिम बुझाउने बताईन् । ‘अटिजम भनेको कुनै रोग होइन । यो कहिल्यै ठिक नहुने भन्ने सोचको विरुद्ध हामीले फिल्ममा कथा उठान गरेका छौं । अटिजम एक अवस्था मात्र हो र यो अवस्थामा रहेका बच्चालाई आफैंले सामान्य अवस्थामा ल्याउन सकिन्छ भन्ने प्रसङ्ग फिल्ममा पाइन्छ,’ उनले भनिन् ।

 

उनले सम्बन्धलाई सार्वजनिक गर्न चाहने एक आमाको संघर्ष पनि फिल्ममा रहेको बताईन् । ‘प्राकृतिक रुपमा नै फरक महशुस गर्ने महिलाहरुको कथा समेत यस फिल्ममा रहेको छ । बच्चाको अटिजम समस्यासँगै सम्बन्ध सार्वजनिक गर्न चाहने आमाको कथा यसको प्रमूख कथा हो’, पण्डितले खुलाइन् । फिल्ममा पण्डितको अभिनयसँगै लेखन र निर्देशन छ ।

 

फिल्ममा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको पनि प्रमूख अभिनय रहेको छ । आश्वि फिल्मसले फिल्म निर्माण गरेको हो । फिल्मको रिलिज मिति चाँडै घोषणा गरिने निर्माण पक्षले जनाएको छ ।