नेपाल नागरिक उड्डयन प्राधिकरणले भन्यो, ‘उद्धार उडानमा बन्देज गरिएको छैन’

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले उद्धार उडानका लागि कुनै बन्देज नगरिएको स्पष्ट पारेको छ ।प्राधिकरणले हालै दुर्गम क्षेत्रका विमानस्थलमा ‘अपरेसन आवर’ भित्र मात्रै एयरलाइन्सले उडान गर्न पाउने निर्णय गरेको थियो । मनसुनमा सम्भावित हवाई दुर्घटनालाई मध्यनजर गर्दै उडान सुरक्षार्थ प्राधिकरणले उडानमा कडाइ गरेको थियो । प्राधिकरणको उक्त निर्णयको आलोचना भएको थियो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले मनसुन अवधिका लागि अपरेसन आवरभित्र मात्रै उडान गर्नेगरी गरिएको निर्णय भएको र मौसम अनुकूल उद्धार उडानमा कुनै बन्देज नगरिएको स्पष्ट पार्नुभयो ।
“दुर्गम क्षेत्रको व्यावसायिक उडानमा मात्रै अपरेसन आवर लागू गरिएको हो । उद्धार उडानका लागि बन्दैज छैन, मौसमअनुकूल इनरुटवेदर हेरेर एयरलाइन्सले यस्तो उडान गर्न सक्नेछन्”, प्राधिकरणका प्रवक्ता निरौलाले भन्नुभयो ।

मौसम प्रतिकूल हुँदा उडानमा समस्या भएको र यस्तो समयमा दुर्घटनाको जोखिम बढ्नसक्ने भन्दै अपरेसन आवरमा मात्रै उडान गर्न प्राधिकरणले आन्तरिक उडानका एयरलाइन्सलाई सर्कुलर गरेको थियो ।प्राधिकरणका अनुसार सामान्यतः दुर्गम क्षेत्रका विमानस्थलमा बिहान ६ः३० देखि मध्याह्न १२ः३० को समयावधिलाई अपरेसन आवर मानिन्छ ।