विरामी परे पाकिस्तानी पूर्व प्रधानमन्त्री

इस्लामावाद, पाकिस्तान । (रासस÷एएफपी) यसै महिना भ्रष्टाचार आरोपमा पक्राउ परेका पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफ जेलभित्र विरामी पर्नुभएको एक पाकिस्तानी मन्त्रीले आइतबार बताउनुभएको छ ।
शरीफ र उहाँकी छोरीलाई भ्रष्टाचार मुद्दा हेर्ने पाकिस्तानी एक अदालतले क्रमशः १० र सात महिनाका लागि जेल सजाय तोकिदिएपछि यही जुलाई १३ गते पक्राउ गरिएको थियो । उहाँहरूले बेलायतमा अवैध रूपमा सम्पत्ती जम्मा गरेको भन्ने पानामा पेपर्समार्फत सूचना बाहिरिएपछि अनुसन्धान शुरु गरिएको छ ।
पाकिस्तानको पञ्जाब प्रान्तका कामचलाउ गृह मन्त्री शौकात जावेदले राज्य सञ्चालित पाकिस्तानी टेलिभिजनसँगको कुराकानीमा भन्नुभयो, “पूर्व प्रधानमन्त्री शरीफको इलेक्ट्रोकार्डियोग्रामको एक रिपोर्टमा फेरबदलको समस्या देखिएकाले उहाँलाई उपचारका लागि अस्पताल लगिएको छ ।”
“पूर्व प्रधानमन्त्री शरीफलाई इश्लामावादस्थित ‘पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस’ मा लगिएको छ । उहाँ कति दिन अस्पताल बस्नुहुनेछ यो सबै चिकित्सकको सल्लाहमा निर्भर हुनेछ,” जावेदले भन्नुभयो ।
शरीफले आफूलाई लक्षित गरी पाकिस्तानी शक्तिशाली सुरक्षा समूहबाट खतरा रहेको बताउनुहुने शरीफले निर्वाचनमा आफ्नो दल पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) गत बुधबार भएको निर्वाचनमा प्रसिद्ध पूर्व क्रिकेट खेलाडी इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफसँग पराजीत बनेपछि आफ्नो राजनीतिक जीवनलाई जोगाउन सङ्घर्ष गरिरहनुभएको छ ।
शरीफलाई भ्रष्टाचार आरोप लागेपछि उहाँले प्रधानमन्त्रीका रूपमा काम गर्न अयोग्य रहेको पाकिस्तानी अदालतले राय दिएको थियो । पछि उहाँ पार्टीको अध्यक्षबाट पनि हट्नु भएको थियो । उहाँको अनुपस्थितिमा उहाँकै सहोदर भाई शहवाजले पिएमएल–एनको प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
पिएमएल–एनका नेता शहवाजले हालैको निर्वाचनमा धाँधली भएको भन्दै अन्य दलले झैँ निर्वाचन परिणामप्रति असन्तुष्टि जनाउदै आउनुभएको छ । उनीहरूले निर्वाचनमा भएको धाँधलीको विरोधमा आन्दोलन गर्ने पनि बताउँदै आएका छन् ।
संयुक्त राज्य अमेरिका, यूरोपेली यूनियन तथा अन्य निर्वाचन पर्यवेक्षकले खानको पक्षमा परिणाम पार्न सेनाले सघाएको दावी विभिन्न क्षेत्रबाट आएपछि शुक्रबार निर्वाचनबारे सन्देह व्यक्त गरिएको थियो ।
खानको विजयले पिएमएल–एन र भूट्टो वंशको पाकिस्तान पिपुल्स पार्टी र सेनाबीच चल्दै आएको आलोपालो नेतृत्वलाई अन्त्य गरेको छ ।