चमक हराएको पूर्वको मोती

फिलिपिन्समा नेपाली पासपोर्टलाई भिसा चाहिँदैन । कुनै शुल्क पनि नलाग्ने रहेछ । मनिला एयरपोर्टमा ओर्लँदा बिहानै थियो । अध्यागमनकी लेडी अफिसरले मेरो पासपोर्टमा इन्ट्री छाप लगाएर मीठो मुस्कानसहित फिर्ता दिइन् । म कृतज्ञतासाथ झुकेर थ्याँक्यू भन्दै बाहिर निक्लेँ ।

सडक पारिपट्टिको कफीसप भर्खर खुल्दै थियो । कफी बनेको थिएन । चियाको तलतलले ब्ल्याक टी खाएँ । शिशैशिशाको भित्ता भएको कफीसपबाट एयरपोर्टको प्रवेशद्वारमा यात्रुहरु भित्र–बाहिर गरिरहेका देखिन्थे ।

मनिला एयरपोर्टलाई निनो अक्विनो इन्टरनेशनल एयरपोर्ट भनिन्छ । यही एयरपोर्टको प्रवेशद्वारबाट बाहिरिँदा फिलोपिनो राजनीतिज्ञ निनो अक्विनोको हत्या भएको रहेछ । तानाशाह मार्कोसको सैन्य दस्ताले सन् १९८३ मा प्रवासबाट फर्किदाँ निनो अक्विनोको हत्या गरेको थियो । हाल उनकै सम्मानमा एयरपोर्टको नामाकरण गरिएको थाहा पाइयो ।

जहाँसुकै होस् एयरपोर्टबाट निक्लेर गन्तब्यतिर जान म कहिल्यै हतार गर्दिनँ । मलाई एयरपोर्टमा मानिसको चहल–पहल हेर्न मन पर्छ । मौका मिलेसम्म स्थानीय मानिसहरुसँग कुराकानी गर्छु । यसबाट नयाँ ठाउँको रहन–सहन र मानिसको बोली व्यवहारबारे थाहा हुन्छ भने कतिपय उपयोगी जानकारी पनि पाइन्छ ।

तर, एयरपोर्टमा ट्याक्सी ड्राइभरबाट चाँहि बच्नुपर्छ । शहरमा नयाँ आगन्तुकलाई चुना लाउने उनीहरुको दाउ हुन्छ । मलाई पनि ट्याक्सी ड्राइभरहरुले शहरको केन्द्र डाउनटाउन जाने बस पाइँदैन भन्दै थिए । तर, मैले बस फेला पारेँ । र, सजिलै बस चढेर मनिलाको डाउनटाउन एरिया मलातेमा पुगेँ ।

मेट्रो मनिला

मनिला शहर बाक्लो जनघनत्व भएको अस्तब्यस्त ठाउँ हो भन्ने सुनेको थिएँ । त्यसमाथि अपराध र लागूऔषधको बिगबिगी । मनिला महानगर र आसपासको क्षेत्रमा गरेर करिब दुई करोड चालीस लाख जनसंख्या छ ।

होटलको ठेगाना दिएको ठाउँमा पुग्दा बीसौं तले अपार्टमेन्ट भवन रहेछ । त्यहाँ अपार्टमेन्टको फल्याटमा सानो गेस्टहाउस चलाएका रहेछन् आनन्द नाम गरेका बनारसी इण्डियनले । हिन्दीमा हाम्रो कुराकानी शुरु भयो । आनन्द फरासिला मान्छे रहेछन् ।

गगनचुम्बी भवन, ठूल्ठूला सपिङ्ग मल, चिल्ला फराकिला सडक, फलाईओभर, मेट्रो रेललगायत सम्पन्नताका प्रतीकहरु मनिलामा भए पनि गरिबी त्यतिकै भयावह रहेछ । शहरी गरिबहरु कतै खाली ठाउँ पायो कि छाप्रो बनाइहाल्दा रहेछन् । कतिपय परिवार बालबच्चासहित ठेलागाडालाई नै घर बनाएर गुजारा गरेको पनि देखियो । सडक बालबालिका, घरबारविहीन मानिसहरु मनिलामा जतासुकै भेटिए । मनिलामा धनी र गरिबको निकै ठूलो खाडल रहेको शहर घुम्दा छर्लङ्ग देखियो ।

फिलिपिन्समा आँधी तुफान, भूकम्प, ज्वालामुखी जस्ता प्राकृतिक विपत्तिहरु आइरहन्छन् । यस्ता प्राकृतिक विपत्तिबाट विस्थापित मानिसहरु आश्रय खोज्दै शहर आउँदा मनिलामा घरबारविहीनको संख्या बढेको हुन सक्छ । वैदेशिक रोजगारीको सामाजिक प्रभावले पनि जनसंख्यालाई शहरतर्फ धकेल्छ । शिक्षा, स्वास्थ्य तथा आर्थिक अवसरको कारणले मानिस शहरतर्फ आकर्षित हुन्छन् । शहरी जनसंख्या बढनु विश्वव्यापी ट्रेन्ड नै हो ।

नेपालमा पनि शहरी जनसंख्या बढदैछ । काठमाडौं मात्र होइन, अन्य शहर पनि महानगर अर्थात मेट्रो सिटी घोषित भएका छन् । शहरी विकासका लागि पूर्वाधार मात्र बनाएर नहुने रहेछ, सबैलाई व्यवस्थित बसोबास र शहरको गरिबीलाई हटाउन सकिएन भने मनिलाजस्तै अस्तब्यस्त हुनेछ ।

उपनिवेशको चंगुलमा

एशियाको दक्षिणपूर्वमा अवस्थित टापु राष्ट्रको नाम स्पेनी राजा फिलिपको नामबाट फिलिपिन्स रहन गएको हो । यो देशको नामले नै उपनिवेशको चंगुलमा परेको जनाउँछ ।

फिलिपिन्सको याप आइलैण्डमा दुई मिटरसम्म व्यास भएको ढुङ्गाको गोलो चक्कालाई पैसाको रुपमा प्रयोग गरिन्थ्यो भन्ने मैले स्कूले किताबमा पढेको थिएँ । त्यत्रो विशाल ढुङ्गे सिक्काको चलन भएको ठाउँमा कस्ता मान्छे बस्थे होलान् भन्ने ममा बाल जिज्ञासा पैदा भएको थियो । तर, बल्ल अधबैंशे उमेरमा सन् २०१७ को फेब्रुअरी महिना फिलिपिन्स भ्रमण गर्ने एउटा बहाना मिलेको थियो । भ्रमण तय भएपछि फिलिपिन्सबारे मेरो जिज्ञासा तीब्र भयो ।

यूरोपियन सामुन्द्रिक यात्रीले साह्रौं शताब्दीको मध्यतिर फिलिपिन्समा पाइला राखे पनि त्यहाँका टापुहरुमा हजारौं वर्ष अघिदेखि मानव बसोबास रहेको तथ्य पाइन्छ । इजरायली इतिहासकार युवल हरारीको विश्वचर्चित पुस्तक “सेपियन अ ब्रिफ हिस्ट्री अफ म्यानकाइन्ड” मा मानवको प्रजाति अफ्रिकामा उत्पत्ति भएर पृथ्वीको कुनाकुनासम्म फैलिएको रोचक कथा छ ।

हरारीका अनुसार मानिस जुनसुकै ठाउँको बासिन्दा भए पनि जरो पहिल्याउँदै जाँदा करिब सत्तरी हजार वर्ष पछाडि पूर्वी अफ्रिकामा गएर टुङ्गिन्छ । मानिसको झुण्ड कुन ठाउँमा पहिले को पुग्यो भन्ने मात्र फरक हो । भूगोल र हावापानीको प्रभावले विभिन्न ठाउँहरुमा विभिन्न वर्ण, जातीय समूह, धर्म, भाषा, संस्कारको विकास भएको रहेछ । तर, पुरानोलाई नयाँ आउनेले अधीनस्थ गर्न खोज्दोरहेछ ।

विश्व इतिहासको यो घटनाचक्रबाट फिलिपिन्स अछुतो रहेन । करिब ७ हजार टापुहरुको समूहले बनेको यो देशमा प्राचीनकालमा भारतीय हिन्दू प्रभाव पनि पुगेको थियो । चौधौं शताब्दीमा इस्लामिक प्रभावले छोयो । जुन प्रभाव फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्दनाओमा अझै छदैँछ ।

सोह्रौं शताब्दीदेखि फिलिपिन्समा स्पेनले उपनिवेश कायम गर्‍याे । उपनिवेश भनेको आर्थिक र राजनीतिक सत्ता कब्जा गर्नु मात्र होइन, धार्मिक तथा सांस्कृतिक रुपान्तरण पनि हो । फिलिपिन्समा स्पेनको ३३३ वर्ष लामो उपनिवेशी शासन सन् १८९८ सम्म रह्योे । धान रोप्ने, माछा मार्ने, नाचगान गरेर रमाउने टापुबासीहरुको सर्लक्कै क्रिश्चियनकरण गरियो । युरोपियन रक्तमिश्रणबाट जन्मिनेले मात्र होइन, कतिपय फिलिपिनोका पूर्वजले चर्चको पादरीबाट पनि यूरोपियन थर ग्रहण गरेका रहेछन् ।

स्वाधीनता आन्दोलन त शुरु भयो । तर, स्पेनिस उपनिवेशको पञ्जाबाट फुत्किएको फिलिपिन्स फेरि करिब ५० वर्ष अमेरिकाको उपनिवेश बन्न पुग्यो । दोश्रो विश्वयुद्धमा जापानको पालो आयो, अमेरिका लखेटियो ।

विश्वयुद्धको समाप्तिपश्चात सन १९४६ मा फिलिपिन्स संयुक्त राष्ट्र संघको सदस्य बन्दै स्वतन्त्र मुलुक बन्यो । फिलिपिन्सले राजनीतिक स्वतन्त्रता प्राप्त गरे पनि उपनिवेशकालको धार्मिक तथा सांस्कृतिक विरासत अहिले पनि बोकिरहेको छ ।

करिब १० करोड जनसंख्या भएको फिलिपिन्समा ९२ प्रतिशत क्रिश्चियन धर्मावलम्बी छन् । अंग्रेजी सरकारी कामकाजको भाषा हो । यद्यपि टगलग भाषा पनि प्रयोग हुन्छ । फिलिपिनीहरु आफूलाई पिनयो भन्दा रहेछन् । मलाई पिनयो शब्द प्रिय लाग्यो ।

समुन्द्र किनारका सम्झना

म बसेको ठाउँ मलातेबाट समुन्द्री किनार नजिकै थियो । मनिला टेकेको दिन नै दिउँसो म घुम्न निस्किएँ । पैदल घुम्दै समुन्द्रको किनारैकिनार फराकिलो सडक, दायाँबायाँ रुखविरुवा र स–साना पार्क जस्ता ठाउँहरुमा पुगेँ । पार्कको बेन्चमा बसेर पत्रिका पढिरहेको रामोन म्यागासेसको शालिकलाई भेटेँ । सडकको अर्कोपट्टि म्यागासेसे भवन रहेछ । जहाँबाट एशियाको नोबल प्राइज भनिने म्यागासेसे पुरस्कार दिइन्छ ।

म्यागासेसेको नाम सुने पनि उनीबारे मलाई थाहा थिएन । सय मिटर दुरीमा रहेको त्यस भवनमा म्यागासेसेबारे जिज्ञाशु मन लिएर पुगेँ । रामोन म्यागासेसेको ठूलो शालिकसहित उनको संक्षिप्त जीवनी र महत्वपूर्ण कार्यको विवरण भित्तामा लेखिएको रहेछ । उनी फिलिपिन्सका पूर्व राष्ट्रपति हुन् । पदमै रहँदा विमान दुघर्टनामा परेर सन् १९५७ मा उनको निधन भएको रहेछ ।

समुन्द्रको छालसँगै टहलिदैँ म घुमेको त्यो ठाउँ मनिला बेको किनार रहेछ । त्यो ठाउँमा बन्दरगाह पनि छ । फिलिपिन्सको विभिन्न टापुहरुमा जाने यात्रु पानीजहाज र केही उता अन्तर्राष्ट्रिय मालवाहक पानीजहाज रोकिने ठाउँ । लाओसमा मेकङ्ग नदीको जस्तो होइन, साँच्चिकै पानीजहाज !

मनिलाको बन्दरगाहमा प्राचीनकालदेखि व्यापारिक पानीजहाजको आवत–जावत हुँदै आएको छ । प्रशान्त महासागरको पश्चिमी सीमामा अवस्थित फिलिपिन्सको सामरिक महत्व बुझेर नै अमेरिकी साम्राज्यवादी शक्तिले यहाँ कब्जा जमाएको थियो । मनिला बेमा विभिन्न सामुन्द्रिक लडाईंहरु भएको पनि इतिहासमा भेटिन्छ ।

यताउता घुमेर थकाई लागेपछि एक ठाउँमा पलेटी कसेर बसेँ । दिन ढल्दै गएपछि मानिसको चहल–पहल बढदै गयो । मनिला बेको किनारमा जगिङ्ग, साइक्लिङ्ग, व्यायाम गर्ने, डेटिङ्गमा आउनेदेखि घरबारविहिन मानिसको पनि चहलपहल हुने रहेछ । ठेलागाडामा खानेकुरा र सस्ता सामाग्री बेच्नेहरु उत्तिकै हुने रहेछन् ।

सूर्यास्त हुन लागेकोले समुन्द्रमा डुब्दै गरेको घामको फोटो खिच्दै थिएँ । भोक लागेर किनेको केही खानेकुरा छेउमा थियो । म आफ्नै सुरमा थिएँ । एक्कासी दुईतिरबाट सडक बालकहरुले मलाई झम्टिए । मैले झड्कार्दा दुईजना पछारिए । तिनीहरुले क्यामेरा खोस्न खोजेका थिए कि खानेकुरा, थाहा भएन । म त्यहाँबाट उठेर हिँडे । पहिलो दिन नै यस्तो छ, एक हप्ता मनिलामा कसरी बिताउने होला भन्ने मलाई चिन्ता लाग्यो ।

म पटक–पटक समुन्द्री किनारतर्फ डुल्न गएँ । भूपरिवेष्ठित देशको बासिन्दा भएर होला, समुन्द्री किनारमा टहलिँदा रमाइलो लाग्छ । त्यहाँ नजिकै बालुवाको किनार (बिच) छैन । किनारासम्म समुन्द्र गहिरिएको छ ।

एक दिन मेट्रो रेल चढेर अन्तिम स्टपमा ओर्लें । त्यहाँबाट गाडी चढेर मल अफ एशिया गएँ । त्यो सपिङ्ग मलहरुको एउटा छुट्टै नगर रहेछ । कुनै सपिङ्ग नगरे पनि कुनाकाप्चा घुमेँ ।

मनिलामा समुन्द्रको किनार नजिकै रिजाल पार्क छ । जोस रिजालको स्मृतिका यो पार्क बनाइएको थाहा पाएँ । तर, मैले जोस रिजालको नाम सुनेको थिइन । फिलिपिनो रिजाल को होला ? पार्क घुम्दा थाहा पाएँ– जोस रिजाल फिलिपिन्सको नेशनल हिरो रहेछन् । उनीसँग सम्बन्धित जानकारी तथा सामग्रीहरु पनि पार्कमा प्रदर्शन गरिएको छ । आँखाको डाक्टर जोस रिजाल, कवि तथा लेखक पनि रहेछन् । स्पेनी उपनिवेशविरुद्ध संघर्ष गर्दा उनी शहीद भएका रहेछन् । हाल पार्क भएकै ठाउँमा उनलाई ३५ वर्षको उमेरमा गोली हानी मृत्युदण्ड दिइएको रहेछ । पार्क निकै सुन्दर, सफा र व्यवस्थित छ । तर, त्यो दुखद कुरा थाहा पाउँदा मुटु ढक्क फुलेर आयो ।

स्वाधीनता संग्रामका महान शहीद जोस रिजाललाई मनमनै श्रदाञ्जली दिएर पार्कबाट निस्केँ ।

विश्वविद्यालय जस्तो बैंक

नेपालको विकाशमा सघाउँदै आएको एशियाली विकाश बैंकको मुख्यालय मनिलामै छ । छोटकरीमा एडीबी भनिने यस संस्थाको ऋण तथा अनुदानबाट नेपालमा सञ्चालित परियोजनामा मैले पनि सानोतिनो भूमिकामा संग्लन हुने मौका पाएको छु । विदेशी दातृनिकायको मान्छे भनेपछि नेपालमा उनीहरुको मानमनितो हुने नै भयो । मलाईचाँहि यी विदेशीहरु हाम्रा लागिभन्दा पनि आफ्नै लागि आएका हुन् जस्तो लाग्थ्यो । तिनीहरुको हेड अफिसमा कुनै दिन पुगुँला भन्ने मैले सोचेको थिइनँ । तीनदिने एउटा कार्यक्रममा सहभागी हुन म त्यहाँ पुग्दै थिएँ । कसैले मलाई खर्च दिएर पठाएको होइन, आफ्नै लहडमा गएको थिएँ ।

एडिबी भवनभित्र छिर्दा कुनै फाइभ स्टार होटलमा छिरेजस्तो लाग्यो । करिब ४० देशबाट आएका ३०० भन्दा बढी सहभागी रहेछन् । कार्यक्रमको विषय थियो– विकास परियोजना सञ्चालन गर्दा स्थानीय जनतालाई थातथलोबाट स्थानन्तरण र जीविकाको सवाल । नेपालमा मात्र गाह्रो होला भनेको त अरु देशमा पनि उस्तै समस्या रहेछन् । विभिन्न सहभागीहरुका अनुभव चाखलाग्दो थियो ।

नेपालबाट म बाहेक अन्य दुईजना सहभागी थिए । एकजना परिचित, हाल एडीबीमा कार्यरत नेपालीसँग पनि भेट भयो । उनलाई त्यहाँ देख्न पाउँदा मलाई गर्व लाग्यो । कार्यक्रम अवधिभर बेलायती समाजशास्त्री जोहन पिलग्रिमसँग बढी हेलमेल भयो । ८० वर्षे उमेरमा जोहनको सक्रिय सहभागिता देखेर मलाई ऊर्जावान बनिरहन प्रेरणा मिल्यो ।

एडीबीको मुख्यालयमा बैठक, सेमिनार, तालिम नियमित चल्दोरहेछ । जागिर दिएर राखेका विज्ञहरु पढ्ने, लेख्ने र नयाँ ज्ञान हासिल गर्ने काममा लागिरहँदा रहेछन् । तिनीहरुका लागि मुख्यालयभित्र आवास, क्यान्टिन, लाइब्रेरीलगायतको सुविधा हुँदोरहेछ । मलाई एडीबी भनेको साहूकार संस्था मात्र जस्तो लाग्थ्यो । त्यहाँ प्रोफेसरजस्ता मानिसहरुको बाहुल्य देखेँ । ‘आइडियाज रुल द वल्र्ड’ अर्थात विचारले संसारलाई सञ्चालन गर्छ भन्ने पढेको थिएँ । त्यसैले होला– पैसाको भकारी भएको एडीबीले ज्ञानलाई महत्व दिएको । समग्रमा, एडीबीको मुख्यालय बैंक होइन, विश्वविद्यालय जस्तो लाग्यो ।