निजी क्षेत्रको कर्जा प्रवाहमा वृद्धि

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलन बढाएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७४/०७५ को ११ महिनामा अघिल्लो वर्षको यही अवधिमा भन्दा १३ दशमलव ५ प्रतिशतले निक्षेप संकलन बढाएका हुन्। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप १० दशमलव १ प्रतिशतले बढेको थियो।

जेठ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा प्रवाहित कर्जा १९ दशमलब ९ प्रतिशतले बढाएको राष्ट्र बैंकले जनाएको छ। चालु आर्थिक वर्षको ११ महिनामा आन्तरिक कर्जा प्रवाहमा वृद्धि भएको छ। यस अवधिमा वित्तीय संस्थाले अघिल्लो वर्षको तुलनामा १८ दशमलव ४ प्रतिशत कर्जा प्रवाह बढाएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११ दशमलव ३ प्रतिशतले बढेको थियो।

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १९ दशमलव ९ प्रतिशत, विकास बैंकहरुको २० दशमलव ६ प्रतिशत र वित्त कम्पनीहरुको १४ दशमलव ३ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा १२ दशमलव ८ प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा १३ दशमलव ३ प्रतिशतले बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा) १५ प्रतिशतले बढेको छ।