उठाइयो प्रदेशसभामा बलात्कारका घटनाको चासो

धनगढी । प्रदेश नं ७ प्रदेशसभाका सदस्यहरुले प्रदेशमा बलात्कारपछि हत्याका घटना बढ्दै गएको भन्दै यस्ता घटना रोक्नका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रदेशसभाको आजको बैठकको विशेष समयमा नेकपाकी देवकी मल्ल थापाले कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै यस्ता घटनामा संलग्नलाई कसरी तह लगाउने भन्नेबारे सरकारले सोच्नुपर्छ भन्नुभयो ।
काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले कैलाली र कञ्चनपुरमा बलात्कारपछि हत्याका घटना शृङ्खलाबद्धरुपमा बढ्दा जनता त्रसित र भयभित बनेको बताउनुभयो ।
नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ र प्रकाश रावलले कञ्चनपुरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर विपक्षीले राजनीति गरेको आरोप लगाउँदै जघन्य अपराधका घटना हुन नदिन पहल हुनुपर्ने बताउनुभयो ।
बैठकमा सार्वजनिक महत्वको विषयमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्राकृतिक प्रकोपका कारण भएको जनधनको क्षति र जघन्य अपराधका घटनाप्रति सरकार दुःखित भएको उल्लेख गर्दै क्षतिबारे सदनलाई जानकारी दिनुभयो ।
मन्त्री शाहले सार्वजनिक महत्वको विषयमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै सरकार प्राकृतिक प्रकोपजन्य घटनामा सचेत रहेको र अपराधका घटना हुन नदिन संवेदनशील बनेको बताउनुभयो ।
बैठकमा विधायन तथा प्रदेश मामिला समितिका ज्येष्ठ सदस्य कृष्णराज सुवेदीले गाउँसभा र नगरसभाको कार्य सञ्चालन गर्न बनेको विधेयक २०७५ र जिल्लासभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि दफावार छलफल भई तयार भएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक साउन १४ गते अपराह्न १ बजे बस्नेछ ।