विदेश पठाइदिने लालच देखाँउदै  ४२ लाख ठगी गर्ने ३ जना पक्राउ

फाइल तस्विर

काठमाडौँ । तपाइ पनि विदेश जाँदै हुनुहुन्छ भने सचेत हुनुहोस् । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै पाँच व्यक्तिसँग रु ४२ लाख ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले उत्तर कोरियास्थित कृषि फार्ममा राम्रो रोजगारीको अवसर छ भनेर पाँच जना व्यक्तिसँग जनही रु सात लाख लिने सिन्धुलीका ३० वर्षीय रामबहादुर थापा, मकवानपुरका २७ वर्षीय दिनेश श्रेष्ठ र ३१ वर्षीया कल्पना ढुंगानालाई कपन र महाराजगञ्जबाट पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्णहरि शर्माले कोरियाका साथसाथै अष्ट्रेलिया, पोल्याण्ड, दक्षिण अफ्रिकालगायतका देशमा रोजगारीको राम्रो अवसर छ भनेर सर्वसाधारणलाई झुक्याएर पैसा लिने गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो ।
पक्राउ परेका तीनै जनालाई आज काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।