कांग्रेसको सरकारविरुद्ध देशव्यापी प्रदर्शन

काठमाडौं-  नेपाली कांग्रेसले आज सरकार विरुद्ध ‘वृहत् विरोध प्रदर्शन’ गर्ने भएको छ । पुरै ७७ वटै जिल्लामा विरोध प्रदर्शनको कार्यक्रम राखेको कांग्रेसले काठमाडौंमा शान्तिबाटिकाबाट प्रदर्शन थाल्ने भएको छ । सर्वसत्तावाद, बढ्दो महँगी विरुद्ध र लोकतान्त्रिक पद्दतिको रक्षाका लागि भन्दै कांग्रेसले सरकार विरुद्धको प्रदर्शनको घोषणा गरेको हो ।

काठमाडौंको विरोध प्रदर्शनलाई केन्द्रीय नेताहरु प्रकाशमान सिंह र गगन थापाले सम्बोधन गर्ने जानकारी कांग्रेसका काठमाडौं जिल्ला सभापति सबुज बानियाँले बताए ।

काठमाडौंमा दिउँसो साढे २ बजे सुरु हुने विरोध प्रदर्शन शान्ति बाटिकाबाट सुरु भई भोटाहिटी, असन, इन्द्रचोक, विशालबजार, न्युरोड हुँदै शान्ति बाटिकामै पुगेर कोणसभामा परिणत हुँदैछ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ७७ जिल्लामै विरोधसभा भएकाले मिलेसम्म केन्द्रीय नेताहरुलाई आफ्नै जिल्लाको प्रदर्शनमा सहभागी हुन पार्टीले निर्देशन दिएको बताए।