१० महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरु हुने

काठमाडौँ । अवको १० महिनाभित्रै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरु हुने संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले बताएका छन्  ।

फोटो पत्रकार क्लबद्वारा बबरमहलस्थित नेपाल कला परिषद् आयोजित तस्बीर प्रदर्शनीको उद्घाटन गर्दै उहाँले विमानस्थल निर्माणको करीब ६० प्रतिशत कार्य सम्पन्न भइसकेको र बाँकी काम चाँडो हुने जानकारी दिनुभयो ।

पर्यटन क्षेत्रको विकासमा फोटो पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै उहाँले भन्नुभयो, “ मठमन्दिर, मस्जिद, सम्पदा, प्राकृतिक सुन्दरताको पहिचान गरेर फोटामार्फत विश्वमा प्रचारप्रसार गर्न सकिनेछ ।” भिजिट नेपाल–२०२० लाई सफल पार्न फोटो पत्रकारको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

नेपाल फोटो प्रतियोगितामा छानिएका उत्कृष्ट तस्बीरको प्रदर्शनी यही साउन २१ गतेसम्म चल्नेछ । उक्त कार्यक्रममा नरेन्द्र श्रेष्ठलाई यस वर्षको उत्कृष्ट पुरस्कारस्वरुप नगद रु एक लाख प्रदान गरियो । पुरस्कृत श्रेष्ठले प्राप्त गरेको पुरस्कारबाट उहाँले खिचेको तस्बीरमा देखिएका मृतक कमल सदाका बुबा फुदन सदालाई रु ७० हजार हस्तान्तरण गर्नुभयो ।