हिंसामा परेका महिला सुरक्षित आवासगृहमा

बैतडी । विसं २०७३ मंसिरदेखि पाटनमा महिला सुरक्षित आवासगृह सञ्चालनमा आएको थियो । उक्त आवासगृह संचालनमा आएपछि हिंसामा परेका महिलाले न्याय पाउन थालेका छन् । उक्त आवासगृहबाट अहिलेसम्म हिंसामा परेका ७४ महिलाले सेवा लिएको संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । हिंसाको प्रतिरोध गर्न हिंसापीडित महिलालाई सुरक्षित महिला आवासगृहमार्फत सजिलो भएको उहाँको भनाइ छ ।
उहाँका अनुसार “सुरक्षित आवासगृहमा हिंसामा परेकालाई महिलालाई परामर्श दिने गरिएको छ ।” आवासगृहमा घरेलु हिंसा, बालविवाह, बलात्कार, बहुविवाह, लैंगिक हिंसालगायत घटनाबाट पीडित महिला आउने गरेका छन् । हिंसामा परेका महिलालाई सहयोग पुर्याउने उद्देश्यका साथ आवासगृह सञ्चालनमा ल्याइएको थियो ।
आवासगृह हिंसामा परेका महिलालाई ३५ दिनसम्म निःशुल्क खान बस्नको व्यवस्था छ । उनीहरूलाई निःशुल्क कानूनी उपचारसमेत प्रदान गरिन्छ । अवस्थीका अनुसार ३५ दिनसम्म पुनःस्थापना नभए वा पुनः हिंसामा पर्ने देखिए पीडित महिलालाई आवासगृहमै राख्ने गरिएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोग, महिला तथा बालबालिका कार्यालयको समन्वयमा उदयदेव महिला बचत तथा ऋण सहकारी संस्थाले उक्त आवासगृह सञ्चालन गरेको हो ।