आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब राजश्व संकलन

काठमाडौँ । खानी तथा भूगर्भ विभागले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब १३ करोड ९३ लाख राजश्व संकलन गर्न सफल भएको छ । विभागले खानीका लागि इजाजतपत्र प्रदान, नवीकरण, खनिज पदार्थको निकासी, मासिक खनिज उत्खनन् तथा नक्सा बिक्री बापत उक्त राजश्व संकलन गरेको हो । विभागका प्रवक्ता कृष्णदेव झाका अनुसार विभागले आव २०७४/७५ मा ५६५ कम्पनी तथा संस्थालाई खनिज खोजतलास तथा उत्खनन्का लागि अनुमति प्रदान गरिएको थियो ।

विभागले खानी खोजतलासका लागि १३९ कम्पनीलाई प्रमाणपत्र, २२६ कम्पनीलाई खानी खोजतलास प्रमाणपत्र, १४ कम्पनीलाई खानी उत्खनन् प्रमाणपत्र तथा ९३ कम्पनीलाई खानी उत्खनन् प्रमाणपत्र नवीकरण प्रदान गरेको हो । विभागले खानी अनुमति, खनिज प्रशोधन, अनुगमन तथा विवाद समाधान, पेट्रोलियम आर्थिक अध्ययन तथा प्रवद्र्धन, धातु खनिज अन्वेषण, अधातु खानिज अन्वेषण, खानीको ड्रिलिङ, इन्जिनियरिङ भौगर्भीक अध्ययन, भूकम्प मापनलगायत काम गर्दै आइरहेको छ । नामटार चुनढुंगा मकवानपुरको विस्तृत अध्ययन, फलामखानी मकवानपुरको अन्वेषण कार्य, धादिङमा चुनढुंगा ड्रिलङ कार्य, ५० वटा सञ्चालित खानीको अनुगमन र खनिजमा आधारित १५ उद्योगको प्रवद्र्धन कार्य सम्पन्न भइसकेको प्रवक्ता झाले बताउनुभयो ।