कालीगण्डकी नदीमा बाढीले पुल बगायो

मुस्ताङ । दिन रातको लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा आएको ठूलो बाढीले गर्दा कागबेनी–तिरी जोड्ने पुल बगाएको छ । बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीमिन्दीस्थित कालीगण्डकीमा रहेको काठेपुल सोमबार बगाएर लगेको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङका अनुसार दुई वर्षअघि सांसद विकास कोषको रु १३ लाख लगानी तथा जनश्रमदान जुटाएर सो पुल निर्माण गरिएको थियो ।
पुल बगाएपछि तिरीका १५ परिवार समस्यामा परेका छन् । पुल बनेपछि यहाँका बासिन्दालाई चौपाया चराउन तथा पर्यटकलाई पदमार्ग हुँदै उपल्लो मुस्ताङ आवतजावत गर्न सहज भएको थियो । पुल बगाएपछि स्थानीयवासी र पर्यटक प्रवाभित भएका छन् ।