बजेट अभावले एम्बुलेन्स सेवा नै बन्द

भक्तपुर । तत्कालीन जिल्ला विकास समितिले २०५८ सालमा आफ्नै आन्तरिक स्रोत परिचालन गरी एम्बुलेन्स सेवा सञ्चालन गरेको थियो । ग्रामीण भेगका बासिन्दाले अकालमै ज्यान गुमाउनु परेपछि जिविसले आन्तरिक स्रोतबाट एम्बुलेन्स सेवा सञ्चालन गरेको थियो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अस्थायी तथा करार सेवामा काम गर्दैआएका कर्मचारीलाई थप तीन महिना हाजिर गराएर काम गर्न परिपत्र गरे पनि जिल्ला समन्वय समितिले एम्बुलेन्स चलाउन नदिएको चालक कृष्णराम कोजुको भनाइ छ ।  “यही साउन १ गतेदेखि एम्बुलेन्स चलाउन अनुमति दिएको छैन”, उहाँले भन्नुभयो, “दैनिक कार्यालय आएर हाजिर गरिरहेको छु ।,” उहाँले सर्वसाधारणले दिनहुँ एमबुलेन्स सेवाका लागि फोन गर्ने गरेको बताउछन् । कोजुले १७ वर्षदेखि तथा अर्का चालक भीमनाथ गेलालले १५ वर्षदेखि करारमा एम्बुलेन्स चलाउँदै आएका छन् ।
जिससको आन्तरिक स्रोत नभएको र प्रदेश तथा संघीय सरकारबाट एम्बुलेन्स सेवा सञ्चालन गर्न आवश्यक बजेट उपलब्ध नगराउँदा १७ वर्षदेखि सञ्चालन गर्दै आइरहेको उक्त सेवा बन्द गर्नुपरेको जिल्ला समन्वय अधिकारी पर्वप्रसाद सापकोटाले बताउनुभयो ।