नेपालले भारतसँग एक दिवसीय सिरिज खेल्ने

काठमाडौँ । नेपाली यू–१९ टोलीले भारतसँग एकदिवसीय क्रिकेट खेल्न लागेको छ । आगामी भदौ अन्तिम साता भारतमा एक दिवसीय सिरिज खेल्ने भएको हो।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले यू–१९ एक दिवसीय सिरिजका लागि नेपालसहित अफगानिस्तानको यू–१९ टोलीलाई भारत बोलाएको हो । आगामी भदौ २४ देखि असोज ४ गतेसम्म हुने प्रतियोतिामा भारतकै यू १९ र नेशनल क्रिकेट एकेडेमी (एनसिए) को टोली पनि सहभागी हुनेछ ।

प्रतियोगितामा सहभागिता जनाउन बिसिसिआईले पत्र पठाएको राष्ट्रिय क्रिकेट टोली व्यवस्थापक रमन सिवाकोटीले राससलाई जानकारी दिनुभयो । “निमन्त्रणा आएको छ, हामी छफफल गर्दैछौं, यसबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)सँग पनि स्वीकृत लिनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।

यू–१९ को केही खेलाडी राष्ट्रिय टोलीमा पनि रहेको र भर्खर नेदरल्याण्डसबाट फर्किएकाले यसबारे निर्णय गर्न एक दुई दिन लाग्ने उहाँको भनाइ छ । यता बिसिसिआईले भने खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ । तालिकाअनुसार भदौ २७ गते इडेन गार्डेन्स कोलकातामा भारतविरुद्ध अफगानिस्तानले खेल्नेछ । सोही दिन जादभपुर युनिभर्सिटीमा एनसिएविरुद्ध नेपालले पनि खेल्नेछ ।
भदौ २९ गते इडेन गार्डेन्समा भारतविरुद्ध नेपाल, सोही दिन जादभपुर युनिभर्सिटीमा एनसिएविरुद्ध अफगानिस्तान, भदौ ३१ गते इडेन गार्डेन्समा भारतविरुद्ध एनसिए, सोही दिन जादभपुर युनिभर्सिटीमा अफगानिस्तानविरुद्ध नेपालले प्रतिस्पर्धा गर्ने छन् । असोज २ गते इडेन गार्डेन्समा शीर्ष स्थानका दुई टोलीबीच फाइनल र सोही दिन जादभपुर युनिभर्सिटीमा तेस्रो र चौथो टोलीबीच प्ले अफ खेल हुनेछ ।