किन यति धेरै गुनासा बढे मुख्यमन्त्रीको कार्यालयमा

सुर्खेत । हरेक दिन केही न केही गुनासा लिएर जनप्रतिनिधिहरू कार्यालयहरूमा धाइरहेको पाइन्छ । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेवा प्रवाहका गुनासा दिनका दिन बढ्न थालेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत जेठ २४ गतेदेखि हेल्लो मुख्यमन्त्री हटलाइन सेवा १०९६ शुरु गरेको थियो । सेवाप्रारम्भ भएयता सेवा समयमै र नियमित प्राप्त एवं जनमुखी नभएको, बेलैमा योजना नबन्ने, बनेका योजना गुणस्तर नहुने, अनियमितताविरुद्ध परेका निवेदनमाथि कारबाही नहुनेजस्ता धेरै कुरामा सेवा प्रवाहसँग जोडिएका गुनासा बढेका हुन् ।
सेवा सञ्चालन भएदेखि कार्यालयमा आजसम्म सार्वजनिक महत्वका १५५ गुनासा लिपिवद्ध गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता केशव उपाध्यायले जानकारी दिनुभयो । सार्वजनिक सेवासँग सम्बन्धित गुनासा ३१, विद्युत्का १९, शिक्षाका १०, सञ्चारका नौ, स्वास्थ्यका आठ, खानेपानीका सात, बाटोघाटोका सात तथा विविधतर्फ २० गुनासा परेको प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो ।

नागरिकका गुनासालाई प्राथमिकतामा राखेर मुख्यमन्त्रीले हेर्ने र महत्वका आधारमा कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने प्रक्रिया अघि बढाइएको छ । केही गुनासा मौखिकरूपले सम्बन्धित व्यक्तिलाई भनेर सम्बोधन गर्ने गरिएको कार्यालयले जनाएको छ ।