गाउँपालिकाका उपाध्यक्ष जसमतिको राजिनामा माग गर्दै अनशनमा

पर्वत ।  पैंयुँ गाउँपालिकाका उपाध्यक्ष जसमति गुरुङको राजीनामा माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनप्रतिनिधि आजदेखि अनिश्तिकालीन अनशन बसेका छन् ।
गाउँपालिका– ४ हुवासमा जनप्रतिनिधिले अनशन शुरु गरेका हुन् । वडाध्यक्ष महेन्द्र श्रेष्ठलाई बिनाकारण स्पष्टीकरण सोध्ने र पद रिक्त गराउने कोसिस गरेको भन्दै उपाध्यक्ष गुरुङको राजीनामा माग गर्दै अनसन बसेको हो ।
वडाध्यक्ष श्रेष्ठ परिवारलाई भेट्न जापान गएको बेला गाउँपालिकाका कार्यवाहक अध्यक्ष गुरुङले ‘लगातार तीन वटा बैठकमा बिनाजानकारी अनुपस्थित भएमा पद रिक्त हुने व्यवस्था भएको’ ब्यहोरा सहित सात दिने स्पष्टीकरण सोधेपछि बिबाद भएको हो । कार्यवाहक अध्यक्ष गुरुङले साउन ८ गतेको मितिमा श्रेष्ठलाई सात दिनभित्र स्वयं उपस्थित भएर स्पष्टीकरण दिने पत्र पठाएका थिए ।
डाध्यक्ष श्रेष्ठले गएको जेठ २९ गते वडा सदस्य मोतीलाल न्यौपानेलाई कार्यवाहक दिएर जापान जानुभएको थियो । कार्यवाहक दिएकोबारे श्रेष्ठले गाउँपालिकामा लिखितपत्र समेत दर्ता गराउनुभएको थियो । “मैले कार्यवाहक दिएर परिवारका सदस्य भेट्न जाँदा पदबाट हटाउने षड्यन्त्र भयो,” श्रेष्ठले भन्नुभयो, “षडयन्त्रपूर्वक गरिएको यस्तो कामका लागि उपाध्यक्षले राजीनामा दिनुपर्छ ।”
सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले अध्यक्ष र उपाध्यक्षलाई कार्यवाहक दिएको जानकारी नगराएका कारण समस्या भएको गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले बताउनुभयो । कार्यवाहक अध्यक्षको हैसियतमा सदस्य न्यौपानेले कार्यपालिकाको बैठकमा समेत भाग लिँदै आउनुभएको थियो । “हाम्रो नियत पद खारेज गराउने होइन, सचेत मात्रै गराउने थियो,” उहाँले भन्नुभयो ।