किन खस्कियो धान रोपाइँ

तेह्रथुम । धेरै ठाउँमा खेतियोग्य जमिन भए पनि बालि लगाउन नसक्दा जमिन त्यतिकै सुकेर गइरहेको अवस्था छ । त्यस्तै तेह्रथुममा अहिलेसम्म खेतीयेग्य जमिन मध्ये कूल ७८ प्रतिशत भागमा मात्र रोपाइँ भएको जानकारी प्राप्त भएको छ ।
साउनको तेस्रो साता बित्दासमेत जिल्लाको कुल धान खेतीयोग्य जमिनमध्ये अहिलेसम्म ७८ प्रतिशत जमिनमा मात्रै रोपाइँ भएको अनुमान जिल्ला कृषि विकास कार्यालयले लगाएको छ । बजेट र कार्यक्रम नहुँदा भूमिकाबिहीन बनेर बसेको उक्त कार्यालयले यकिन विवरण भने निकाल्न सकेको छैन । उक्त विवरण एक अनुमान मात्रै गरिएको हो ।
समयमा पानी नपर्दा आकाशे पानीको भरमा रोपाइँ हुने खेतमा रोपाइँ हुन नसकेको कृषि प्राविधिक बताउँछन् । विशेषगरी तल्लो औलक्षेत्रका खेत र बेँसीमा पानी नपर्दा रोपाइँ हुन कठिन भएको उक्त कार्यालयका वागवानी विकास अधिकृत राजीव कुमारले बताउनुभयो ।
धान रोप्ने बेला पानी नपरेपछि किसान भोकमरी लाग्ला की भन्ने चिन्तामा परेका छन् । लेकाली क्षेत्रमा भने रोपाइँ गर्ने समयमा छिटफुट वर्षा भएकाले रोपाइँ राम्रै भएको हो ।